नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताएका छन्।
शनिबार प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयाजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले राष्ट्रपतिको उम्मेदवारबारे चर्चा गरेका हुन्।
उनले भने, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ।’
यस्तै सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताए।
उनले भने, ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो। त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो। टुट्नुपर्ने नै थियो।’
साथै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँ एमालेलाई खोज्दै आएको टिप्पणी पनि गरे।
उनले भने, ‘पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उहाँको प्रस्ताव थियो। राष्ट्रपतिको कुरा पनि प्रचण्डले आफैँ दिनुभएको हो। पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन।’
यस्तै सचिव भट्टराईले एमालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) फागुन ५ गते सुरु भएको बताए।
उनले भने, ‘पार्टीका ४० जना केन्द्रीय सदस्य नेताहरूलाई कर्णालीका ७९ पालिकामा खटाएको छ। कर्णालीमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङले नेतृत्व गर्नुभएको छ।’
एमालेको यो अभियान जमिनतिर फर्काउने भएको बताए।
उनले भने, ‘हामी दस लाख ९२ हजार बढी संगठित सदस्यलाई परिचालन गर्ने छौँ। हरेक घरका सदस्य सँग पुगेर उनीहरूका समस्या गुनासाा, विकास निर्माण, स्थानीय तहले गरेका काम सबैको पहिचान ग्रासरुटले गर्नेछ।’
यो अभियान सकिएपछि पार्टी नयाँ र जवान हुने दाबी सचिव भट्टराईले गरे।
प्रतिक्रिया