नेपाली कांग्रेस र नेकपा (एमाले) सुर्खेतले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको संयुक्त रूपमा रिहाइको माग गरेका छन्।
कांग्रेस सुर्खेतका जिल्ला सभापति खड्गबहादुर पोखरेल र एमाले सुर्खेतका जिल्ला अध्यक्ष कुलमणि देवकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै ओली र लेखकको पक्राउप्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा वर्तमान सरकारले गरेको पक्राउलाई गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै विरोध गरेका छन्। उक्त कदम लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासन विपरीत रहेको उल्लेख छ।
संयुक्त विज्ञप्तिमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको पक्राउ पूर्वाग्रही, अपूर्ण तथा विवादास्पद भएको उनिहरूको ठहर छ। उनीहरूले एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई तत्काल रिहा गर्न माग गरेका छन्।
लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालालाई एकजुट हुन आह्वान गरिएको छ। दुवै दलले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष, स्वतन्त्र र न्यायोचित छानबिनका लागि नयाँ विश्वसनीय आयोग गठन गर्न माग गरेका छन्।
साथै, घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने तर राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्न नहुने स्पष्ट पारेका छन्।

Shares

प्रतिक्रिया