दैलेखको दुल्लु नगरपालिका-१३ का वडा सचिवलाई सिफारिसका लागि धम्की दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गरी वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने प्रकाश खड्कालाई कारबाही गर्न निर्देशन दिएको जनाएको छ।
प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा वडा सचिवलाई धम्काउने खड्कालाई कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकाय निर्देशन दिएको जनाएका छन्। खड्काले ‘पीएमओ कार्यालय थाहा छ? त्यहाँबाट बोल्दै छु, मेरो मान्छेलाई सिफारिस किन नदिएको’ भन्दै वडा सचिव भण्डारीलाई धम्काएको अडियो सार्वजनिक भएको छ।
वडा सचिवलाई धम्काउने खड्का हाल काठमाडौँमा बसोबास गर्छन्। उनको घर पनि दुल्लु नगरपालिका–१३ मै पर्छ।
खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)मा आवद्ध छन्। रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले शनिबार खड्कालाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुसन्धानमा सिफारिस गरेका थिए।
Shares

प्रतिक्रिया