खेल


कुशलको शतकमा नेपालको सानदार जित

कुशलको शतकमा नेपालको सानदार जित

सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
जेठ २, २०८३ शनिबार १५:२८, काठमाडौँ

ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा अमेरिकालाई पराजित गर्दै जारी सिरिजमा पहिलो जित दर्ता गरेको छ। 

शनिबार भएको सिरिजको आफ्नो दोस्रो खेलमा अमेरिकालाई नौ विकेटले हराउँदै सानदार जित हात पारेको हो। सिरिजको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डीएल मेथडमा दुई रनले पराजित भएको थियो। 

अमेरिकाले भने जारी शृंखलामा लगातार दोस्रो हार बेहोरेको हो। शृंखलाको पहिलो खेलमा अमेरिका स्कटल्यान्डसँग डीएल मेथडमा दुई रनले नै पराजित भएको थियो। 

शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छ। शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार पुनः अमेरिकासँग खेल्नेछ। 

शनिबार अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। अमेरिकाविरुद्ध पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १४५ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। 

ओडीआईमा पहिलो विकेटका लागि भएको यो दोस्रो ठूलो साझेदारी हो। नेपालको ओडीआईमा समग्रमा यो चौथो ठूलो साझेदारी हो। 

कुशलले १२० रनको अविजित पारी खेले। उनले ११८ बलमा १३ चौका र ६ छक्का प्रहार गरे। ओडीआईमा कुशलको यो सर्वाधिक स्कोर हो। यसअघि उनले नामिबियाविरुद्ध ११५ रन बनाएका थिए। 

कुशलले १०४ बलमा १२ चौका र ३ छक्का सहयोगमा शतक पूरा गरे। ओडीआईमा उनको यो दोस्रो शतक हो। घरेलु मैदानमा भएको लिग–२ सिरिजको पछिल्ला तीन खेलमा उनी बेन्चमा थिए। उनले यसअघि २०२३ मा घरेलु मैदानमा नै लिग–२ सिरिजमा नामिबियाविरुद्ध शतक पूरा गरेका थिए। 

अर्का ओपनर आशिफ शेखले ७२ बलमा ७ चौका सहयोगमा ५८ रन बनाए। उनी मोहम्मद मोहसिनको बलमा हरमित सिंहको हातबाट क्याच आउट भए। 

ओडीआईमा डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे। उनले ३० बलमा १ चौका प्रहार गरे।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदा अलआउट भयो।

ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि पाचौँ ओभरमा १४ रन बनाउँदा स्मितको क्याच ड्रप हुँदा जीवनदान पाएका थिए। 

दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले एक सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। 

मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लूको धरापमा परे। मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने। हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

कप्तान साइतेजा मुक्कामल्ला चार रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। सञ्जय कृष्णमूर्ति एक रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे। 

शुभम रन्जाने दुई रनमा रनआउट भए। मोहम्मद मोहसिन शून्यमै रनआउट भए। नोस्तुस केन्जीके एक रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लू आउट भए। 

नेपालका लागि दीपेन्द्रले चार लिए। किफायती बलिङ गरेका उनले ७.३ ओभरमा मात्र २४ रन खर्चे। 

सोमपाल कामीले दुई विकेट झारे। उनले सात ओभरमा एक मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad