कोसी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले कडा रोग लागेका बिरामीका लागि ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीले बिरामीलाई सहयोग रकम वितरण गर्ने निर्णय भएको जानकारी दिए। ‘यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने फरक तरिकाबाट सहयोग गर्ने नीति लिइने छ,’ उनले भने।
बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ।
त्यस्तै प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै काजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको सुझाव सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिनेसमेत निर्णय गरेको छ। त्यस्तै कोसी पर्यटन वर्षको लागि विनियोजन गरेको रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
Shares

प्रतिक्रिया