राजनीति


११ औँ महाधिवेशन: कोसीका पूर्व र वर्तमान दुवै मुख्यमन्त्री बने एमालेका सचिव

११ औँ महाधिवेशन: कोसीका पूर्व र वर्तमान दुवै मुख्यमन्त्री बने एमालेका सचिव

सुमन सुस्केरा
पुस ४, २०८२ शुक्रबार १०:६, विराटनगर

नेकपा एमालेको एघारौँ महाधिवेशनबाट कोसी प्रदेशका पूर्व तथा वर्तमान मुख्यमन्त्रीहरू शेरधन राई र हिक्मत कुमार कार्की पार्टी सचिव पदमा निर्वाचित भएका छन्।

झापा गृहजिल्ला भएका केपी ओली पुनः अध्यक्षमा निर्वाचित हुँदा सचिव पदमा कोसी प्रदेशबाट दुई प्रभावशाली नेताहरू निर्वाचित हुनुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

महाधिवेशनअघि एउटै समूहभित्र रहेर सचिव पदका आकांक्षीका रूपमा चर्चामा आएका राई र कार्कीबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अन्ततः पार्टी नेतृत्वको टिम–सन्तुलन र सहमतिका आधारमा दुवै जना सचिवमा चयन भएका हुन्।

कोसी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई लामो समयदेखि पार्टी संगठन र सरकार दुवै तहमा अनुभवी नेताका रूपमा परिचित छन्। 

२०५६ सालदेखि सांसद, मन्त्री हुँदै प्रदेशको पहिलो मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका राईलाई वरिष्ठ र सन्तुलित नेताका रूपमा हेरिँदै आएको छ।

त्यस्तै, हालका मुख्यमन्त्री हिक्मत कुमार कार्की विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। अखिलको केन्द्रीय अध्यक्ष, मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज, केन्द्रीय सदस्य र स्थायी समिति सदस्य हुँदै मुख्यमन्त्रीसम्मको यात्राले उनलाई संगठन चलायमान गराउन सक्ने क्षमतावान नेताका रूपमा स्थापित गरेको छ।

महाधिवेशनबाट सचिवमा दुवै नेताको चयनले कोसी प्रदेशको राजनीतिक हैसियत पार्टीभित्र थप मजबुत भएको विश्लेषकहरूको भनाइ छ। एउटै प्रदेशबाट दुई मुख्यमन्त्री सचिवमा निर्वाचित हुनु एमालेको संगठनात्मक सन्तुलन र ओली नेतृत्वको विश्वासको संकेतका रूपमा हेरिएको छ।

महाधिवेशनपछि प्रतिक्रिया दिँदै दुवै नेताले आफूहरू एउटै टिम भएको र पार्टीको निर्णयअनुसार जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी नेतृत्वले दिएको जिम्मेवारीलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक चुनौती सामना गर्न प्रयोग गर्ने उनीहरूको भनाइ छ। 

राईले भने, ‘तपाईंहरूको माया, विश्वास र भरोसा सहितको साथलाई सदैव शीरमा राखेर पार्टीको सुदृढीकरण   तथा नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै राष्ट्रको समग्र विकास र समृद्धिका लागि निरन्तर एबं इमान्दारीपूर्वक समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सचिवमा निर्वाचित दुबै जना पहिलो पटक पदाधिकारीको जिम्मेवारीमा पुगेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad