समाज


भेरी अस्पतालले मृत भनेर घर पठाएका नवजात शिशु जीवित देखिए, अस्पताल प्रशासनले माग्यो माफी

भेरी अस्पतालले मृत भनेर घर पठाएका नवजात शिशु जीवित देखिए, अस्पताल प्रशासनले माग्यो माफी

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १०:४७, काठमाडौँ

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका चिकित्सकले मृत भनेका नवजात शिशु जीवित रहेको पाइएपछि अस्पताल प्रशासनले माफी मागेको छ। 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकबाट कमजोरी भएको स्वीकार गरेका छन्। 

उक्त घटनाले शिशुका परिवारजनमा पर्न गएको पीडाप्रति अस्पताल परिवारले सहानुभूति प्रकट गरेको छ। 

घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन्। ६१७ ग्राम मात्रै तोलका ती शिशुको २९ गते मृत्यु भएको घोषणा गर्दै चिकित्सकले ‘शव’ आफन्तलाई जिम्मा लगाएर घर पठाएका थिए। 

तर, आफन्तले घर लगेको करिब चार घण्टापछि ती शिशु जीवित रहेको संकेत पाइएपछि परिवारजनले पुनः अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएको केहीबेरमै ती शिशुको मृत्यु भएको थियो। 

अस्पताल प्रशासनले चिकित्सकले मृत भनेका शिशु पछि जीवित पाइएको घटनालाई अपवाद भनेको छ। २३ हप्तामै जन्मिएका ६१७ ग्रामका ती शिशुमा अपवादको रुपमा जीवित रहेको संकेत अत्यन्त ढिलोगरि देखिएको विज्ञप्तिमा उल्लेख छ। 

अस्पतालले आफ्नो क्षमतअनुसार शिशुको सही उपचार गर्न अधिकतम प्रयास गरेको भएता पनि अस्पतालको तर्फबाट बिरामीका आफन्तहरुलाई सम्भावित परिणामको बारेमा अधिकतम बुझाउनेगरि परामर्श गर्ने विषयमा कमजोरी भएको स्वीकार गरेको छ। 

विज्ञप्तिमा २८ हप्ता नपुगेको र एक किलोग्रामभन्दा कम तौल भएको शिशुलाई बचाउन सक्ने सम्भावना नरहने दाबीसमेत गरिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad