समाज


प्रहरीको रिपोर्ट–पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो

प्रहरीको रिपोर्ट–पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १८:४, काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्।

सिंहदरबारमा शुक्रबार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराएका हुन्। 

महानिरीक्षक कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ।

नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ। बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए।

यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए।

कानुनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा बाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट पारे। सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ।

विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटीपी मार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको बताए। विद्वान वर्ग समेत यस्ता अनलाइन स्क्यामिङ र बेटिङको पासोमा पर्ने गरेको भन्दै उहाँले सचेतनाका लागि आग्रह गरे।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नभएका व्यक्तिहरू खुल्ला सीमाको फाइदा उठाउँदै भारत भएर तेस्रो मुलुक जाने गरेको र यसले मानव तस्करीको जोखिम बढाएको महानिरीक्षक कार्कीको भनाइ छ।

सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन नेपाल प्रहरीले नियमित गस्तीका साथै आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ। उपकरणको सीमितताका बाबजुद पनि संवेदनशील स्थानहरूमा ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (केनाइन) परिचालन गरी निगरानी बढाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad