राजनीति


कोसीमा खड्का पक्षको भेला, कोइराला पक्ष पनि सहभागी

कोसीमा खड्का पक्षको भेला, कोइराला पक्ष पनि सहभागी

सुमन सुस्केरा
बैशाख २९, २०८३ मंगलबार १३:५१, विराटनगर

नेपाली कांग्रेसले प्रदेश स्तरीय भेलाको पश्चिमबाट सुरुवात गरिरहेका बेला इतर समूहले भने पूर्वबाट भेला सुरु गरेको छ। मंगलबार कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पक्षले विराटनगरमा कर्याकर्ता भेला गरेको छ। 

कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘विशेष महाधिवेशन’को विपक्षमा रहेका नेता तथा कार्यकर्ता भेलामा सहभागी भएको एक नेताले बताए। विराटनगरको बिग होटलमा भेला सुरु भएको छ। 

पार्टीको पछिल्लो राजनीतिक अवस्था र विशेष महाधिवेशनको सान्दर्भिकताका विषयमा रणनीति बनाउन नेता तथा कार्यकर्ता भेलामा सहभागी भएका छन्। त्यस्तै, भेलामा कांग्रेसका पूर्व केन्द्रीय सदस्यहरू, कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद पनि उपस्थित छन्।

भेलाको नेतृत्व पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका छन्। त्यस्तै बैठकमा मीन विश्वकर्मा, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा तथा सीता देवकोटा लगायत नेता सहभागी छन्। 

कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईसहित ६ जना प्रदेश सांसदहरू समेत बैठकमा सहभागी भएका छन्। विशेष महाधिवेशनमा सहभागी भएका कोसीका पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी छन्। 

प्रदेशका मन्त्री भीम पराजुली, सांसदहरू सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र खगेश्वरी पौडेल पनि सहभागी छन्। 

पार्टीलाई आगामी दिनमा नयाँ कार्यदिशाको खोजी गर्ने विषयमा छलफल गर्ने गरी बैठकमा सहभागी भएको कोसी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए। नेता राईका अनुसार, यो बैठकमा करिब एक सय जनाको हाराहारीमा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। 

विशेष महाधिवेशनपछि पनि पार्टी सोचे अनुरूप अघि नबढेको अवस्थामा, अब पार्टीलाई कसरी एकीकृत र सुदृढ बनाउने भन्ने विषय बैठक केन्द्रित हुने नेताहरूले बताएका छन्। भेलामा डा. शेखर कोइराला पक्षका नेताहरू पनि सहभागी छन्। 

बैठकमा सहभागी हुन पेगेका नेपाली कांग्रेसका नेता तथा पूर्व मुख्यमन्त्री केदार कार्कीले बिग होटलमा पार्टीको आन्तरिक बैठक बसिरहेको बताए। यो बैठक कुनै औपचारिक कार्यक्रम नभई नेताहरूबीचको विशेष छलफल र परामर्शका लागि आयोजना गरिएको कार्कीको भनाइ छ। 

उनले यसलाई पूर्णतः अनौपचारिक छलफल भएको बताए। कुनै औपचारिक सभापति वा प्रमुख अतिथिको व्यवस्था नगरिएको उनले बताए। पार्टीभित्रको वर्तमान तरल राजनीतिक अवस्थाबीच विराटनगरमा भइरहेको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad