ad ad

राजनीति


आफूलाई प्रयोग मात्रै गरेको भन्दै विमला वलीले छाडिन् माओवादी

आफूलाई प्रयोग मात्रै गरेको भन्दै विमला वलीले छाडिन् माओवादी

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७९ सोमबार १३:१९, काठमाडौँ

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्र त्यागेकी छन्। 

उनले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्षसमक्ष पार्टी छाडेको पत्र बुझाएकी हुन्। वलीले राजीनामा पत्र माघ २४ मै पार्टीमा दर्ता गरेको खुलेको छ। 

उनले आफूलाई पार्टीले 'युज एण्ड थ्रो' गरेको भन्दै गुनासो पनि पोखेकी छन्।

‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ। तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो,’ उनले गुनासो गर्दै भनेकी छन्, 'माओवादीले मलाई‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको छ। हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ।' 

उनले दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई बनेको नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको स्मरण पनि गरेकी छन्।

'मेरा श्रीमान दिवंगत उत्तरकुमार वलीको योगदानको कदर गर्दै मलाई पार्टीले उम्मेदवार बनायो। श्रीमानकै लोकप्रियता र मप्रति जनताले गरेको सहानुभूति र तत्कालीन पार्टीको योग्दानले मैले प्रदेशसभामा विजयी हासिल गरेँ', उनले भनेकी छन्, 'तत्कालीन उपनिर्वाचनमा मलाई बढी सहयोग माओवादी केन्द्रका कमरेडहरूबाट भएको अनुभूति मलाई भयो। मैले दुई पार्टी विभाजन हुँदा मुटुमा ढुंगा राखेर पनि माओवादीलाई सहयोग गरेँ।'

उनले श्रीमानको योगदान एमालेमा हुँदा हुँदै पनि आफूले ठूलो निर्णयसहित माओवादीमा प्रवेश गरेको बताएकी छन्। 

'श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन। तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने गर्‍यो', उनले भनेकी छन्, 'माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यीकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझेँ। पार्टीले मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो। यसबीचमा केही उत्तारचढाव आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति भयो। ठूला-ठूला अपराध त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्। तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अबस्थालाई लिएर मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा लिन लगाइयो।'

मन्त्रीबाट निकालेपछि आफूलाई पार्टीले फर्केर नहेरेको उनको तर्क छ। 'त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन। मलाई पार्टीले 'युज एण्ड थ्रो' गरेको अनुभूति भयो', उनले भनेकी छन्, 'त्यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको ख्याल नगरी अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .