राजनीति


रक्षामन्त्री उप्रेती चार दिनदेखि सर्लाहीमा, बधाई थाप्न भ्याइनभ्याइ

रक्षामन्त्री उप्रेती चार दिनदेखि सर्लाहीमा, बधाई थाप्न भ्याइनभ्याइ

नेपालखबर
माघ १४, २०७९ शनिबार ८:२५, सर्लाही

रक्षामन्त्री हरिप्रसाद उप्रेती चार दिनदेखि गृह जिल्ला सर्लाहीमा छन्। 

गएको बुधबार दिउँसो नेपाली सेनाको एमाआई–१७ हेलिकप्टर चढेर गृह जिल्ला आएका उप्रेतीलाई यतिबेला आफ्नो निर्वाचन क्षेत्र सर्लाही ३ मा भएका विभिन्न कार्यक्रममा बधाई तथा सम्मान थाप्न भ्याइनभ्याइ छ। सेनाको सानो टुकडी पनि निरन्तर उनकै साथमा छ। 

संघीय संसद्‌मा दोस्रोपटक विजयी उप्रेती पहिलोपटक मन्त्री बनेर सर्लाही आएका हुन्।

नेकपा एमालेकोको लो प्रोफाइलकै नेता भए पनि दोस्रोपटक निर्वाचन जितेकाले उप्रेतीलाई यसपटक मन्त्री बन्ने अवसर जुरेको हो।

गएको बुधबार सेनाको हेलिकोप्टरमार्फत सर्लाहीको बरहथवा नगरपालिका - ११ हिरापुरको खेल मैदानमा अवतरण गरेदेखि उनले डेढ दर्जनजति औपचारिक/अनौपचारिक कार्यक्रममा सहभागिता जनाइसकेका छन्। 

मन्त्री उप्रेती आज (शनिबार) साँझ मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिव दिनेश यादवले जानकारी दिए। 

बुधबार सर्लाही आउने क्रममा उनले हेलिकप्टरमार्फत निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको निरीक्षण गरेका थिए।

हेलिकोप्टरबाट पुर्ख्यौली घर रहेको गाउँ हिरापुरमा अवतरण गरेलगत्तै उनले बरहथवा - ९ मूर्तिया पुगेर छैटौँ मुक्तेश्वर महोत्सवको उद्घाटन गरेका  थिए। त्यसयताका दुई दिन उनको व्यस्त कार्यतालिकासहित बितेका छन्।

बुधबार र बिहीबार बरहथवा, चक्रघट्टा, बसबरिया, हेमपुर, बागमतीलगायत ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका उप्रेती शुक्रबार दिनभर हरिवनमा बधाई थाप्न व्यस्त भए। 

आज पनि दिनभर उनी आफ्नै निर्वाचन क्षेत्रमा हुने भेटघाट कार्यक्रममा व्यस्त हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

शुक्रबार उनले हरिवन नगरपालिकाका विभिन्न स्थानमा आयोजित आधा दर्जन जति कार्यक्रममा सहभागिता जनाएको नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए। 

शुक्रबार बिहान उप्रेती हरिवन नगरपालिकाले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए। लगत्तै उनले हरिवनमै आयोजित अर्को कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुलाई सम्बोधन गरे। 

त्यस क्रममा उनले कार्यालय प्रमुखहरुसँग बिफ्रिङ लिने र निर्देशन दिने काम भएको एमालेका एक नेताले जानकारी दिए।

शुक्रबार दिउँसो उप्रेती इन्दु शंकर चिनी उद्योगका मजदुरले गरेको सम्मान तथा भेटघाट कार्यक्रममा सहभागी भए भने नेपाल भूतपूर्व राष्ट्रिय सैनिक संगठनले उनकै सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए।

त्यसैगरी एमालेको क्षेत्रीय कमीटी र उद्योग वाणिज्य संघ हरिवनले आयोजना गरेको कार्यक्रममा पनि उप्रेती सहभागी भए। साथै उनले व्यक्तिगत भेटघाटका कार्यक्रम पनि गरिरहेका छन्।

उप्रेतीले आफ्ना पिताको मृत्युको शोकमा रहेका एमाले नेता गणेश प्रसाईंलाई शुक्रबार हरिवन- १० इनारटोलस्थित घरमै गएर भेटेका छन् भने पाँच दिनअघि दिवंगत माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलका परिवारलाई पनि हरिवन - ९ नयाँरोडस्थित घरमै गएर भेटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .