राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आत्मदाह गरेका गृहजिल्ला सर्लाहीका विवेक मण्डलको परिवारलाई आफूले सक्ने सहयोग आजीवन गर्ने घोषणा गरेका छन्।
प्रतिनिधसभा सदस्य सिंहले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र डाक्टरहरूले कुनै कसर बाँकी राखेको थिएन। अथक प्रयासका बाबजुद उनको निधन भएको छ’, उनको दु:खद र असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। विविकको परिवारलाई आफूबाट हुनसक्ने हरेक सहयोग आजीवन गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्दछु।’
सर्लाहीको गोडैता नगरपालिका-१०, सिसौटियाका ३५ वर्षीय विवेकले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनलाई त्यही दिन साँझ नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो।
तर उपचारका क्रममा आज बिहान २ बजे उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ। चिकित्सकका अनुसार विवेकको शरीरको ८५ प्रतिशत भाग जलेको थियो।
विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले उनमा केही समयदेखि मानसिक समस्या देखिएको परिवारका सदस्यले बताएका छन्।

Shares

प्रतिक्रिया