तीन दिन अगाडि भोजपुरको हतुवागढी पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो आक्रमक शैलीलाई निरन्तरता दिँदै नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको चर्को आलोचना गरे । शेरधन ६ दिनपछि हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरबाट नेकपा (एमाले)का उम्मेदवार मात्र हैनन् राष्ट्रिय राजनीतिका चर्चित पात्र पनि हुन् । देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगटे पनि उनले भोजपुरको विकासमा काम गर्न नसकेको आरोप लगाउँदै साम्पाङले नजिकै रहेको पुलको उदाहरणसमेत दिन भ्याए ।
भोजपुरबाट श्रम संस्कृति पार्टीका उम्मेदवार रहेका ध्रुव राईका लागि मत माग्न हतुवागढि पुगेका हर्कले विभिन्न पार्टी परित्याग गरेर आएका दर्जनौँ स्थानीय नेता कार्यकर्तालाई अविर लगाएर स्वागत गरे । यो एउटा सामान्य उदाहरण हो, देशभर नयाँ र पूरानो पार्टीको बहस चलिरहँदा पूर्वी पहाडी जिल्लाहरुमा भने श्रम संस्कृति पार्टीको लहर तीब्र रुपमा चलिरहेको छ । यसले पूर्वी पहाडको राजनीतिक पारो निक्कै उकालिएको छ ।
भोजपुरबाट उम्मेदवारी दिएका ध्रुव राई आफैँ नेकपा (एमाले)बाट योभन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष हुन् । त्यस्तै सोलुखुम्बुबाट श्रम सँस्कृति पार्टीका उम्मेदवार रहेका विएस राई पनि तात्तकालिन नेकपा (माओवादी)का नेचा सल्यान गाउँपालिकाका अध्यक्ष हुन् । सामान्यत राजनीतिक इतिहास नभएका आम नागरिकहरु श्रम सँस्कृति पार्टीमा आकर्शित भइरहेको बेला पूर्वि पहाडमा भने विभिन्न ठूला राजनीतिक दलमा स्थानीय स्तरमा प्रभावशाली देखिएका नेता कार्यकर्ता श्रम सँस्कृति पार्टीमा आवद्ध भइरहेका छन् ।

प्रतिक्रिया