राजनीति


सुदन किरातीले छाडे प्रगतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा र श्रम संस्कृतिसँग संवादमा

सुदन किरातीले छाडे प्रगतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा र श्रम संस्कृतिसँग संवादमा

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:३३, काठमाडौँ

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजिनामा दिएका छन्। अध्यक्ष परिषद्मा रहेका किरातीसँगै दुर्गा सोब र ओजस्वी भट्टराईले पनि राजिनामा दिएको सार्वजनिक भएको छ। यद्यपी उनीहरू दुई जनाले यसबारे औपचारिक रूपमा बोलेका छैनन्। 

किरातीले भने राजिनामा दिएको पुष्टि भएको छ। ‘सुदन किराती तात्तकालिन नेकपा (माओवादी केन्द्र)मा रहँदा पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ भनेर बाहिरिनुभएको हो,’ प्रलोपाका विशेष कोसी प्रदेस प्रमुख सन्जय राईले सुदनको राजिनामा पुष्टि गर्दै भने, ‘त्यहीँ आधारमा प्रलोपा गठन भयो। तर यहाँ पनि त्यो सम्भावना देखिएन। त्यसैले नैतिकता र विचारधारात्मक निष्ठाको आधारमा चुनावी परिणाम लगत्तै राजिनामा दिनुभएको हो।’  

तात्तकालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको अगुवाइमा बनेको प्रलोपाको अध्यक्ष मण्डलमा पाँच जना सदस्य थिए। तीन जनाले राजिनामा दिएपछि अब अशोक जैसवाल र सन्तोष परियार अध्यक्ष मण्डलमा रहेका छन्। गत ८ मंसिरमा गठन भएको पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले भने किराँतीको राजीनामाबारे स्पष्ट जानकारी नभएको बताएका छन्। उनले पार्टी सञ्चालनको विषयमा केही असन्तुष्टि देखिएको भने स्वीकारेका छन्। 

त्यसबारे छलफल गर्न बुधबार परिषद् बैठक बसेको थियो। किराती उक्त बैठकमा सहभागी भएनन्। किरातीले पार्टीभित्र नेतृत्व शैली र निर्णय प्रक्रियामा पुरानै पार्टीको शैली हावी भएको भन्दै असन्तुष्टि जनाउँदै आएको उनी निकट अर्का एक नेताले जानकारी दिए।
 

रास्वपा र श्रम संस्कृतिसँग संवादमा 
सुदन तात्तकालीन माओवादी केन्द्रभित्र युवा पुस्ताका ‘सेलिब्रेटी’ नेता मध्ये एक हुन्। गत चुनावमा उनले सुनसरी क्षेत्र नंं १, खोटाङ र भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई निशर्त समर्थन गरेका थिए। उनले समर्थन गरेका क्षेत्रहरूमा श्रम संस्कृतिले विजय पनि प्राप्त ग¥यो। यसबाट सुदन र श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङको निकटता बढेको राईले बताए।

श्रम संस्कृति पार्टीका महासचिव एवं सांसद आरेन राईले पनि सुदनसँग छलफल भइरहेको बताए। ‘नतिजा नै आउनेगरी कुरा गर्न सकिएको छैन।’ उनले भने, ‘तर सँगै हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो।’ 

सुदन निकट अर्का नेताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का साभापति रवि लामिछानेको तर्फबाट पनि सुदनलाई पार्टीमा भित्र्याउन पहल भइरहेको छ। ‘अहिले नै कसरी अघि बढ्ने भन्नेबारे एक्किन भएको छैन,’ सुदनसँगै टीममा रहेका उनले भने, ‘तत्तकाल कुनै पार्टीमा प्रवेश गरिहाल्ने कुरा छैन्।’ किराती निकट अर्का नेताका अनुसार उनी तत्तकाल कुनै पार्टीमा प्रवेश गर्नेभन्दा पनि आफ्नै पहलमा केहि नयाँ शक्ति गठन गरेपछि अन्य पार्टीसँग एकता प्रक्रियामा जानेबारे छलफल गरिरहेका छन्।

‘उहाँले नयाँ र वैकल्पिक शक्ति निर्माण गर्ने भनेरै पुरानो पार्टी त्याग्नुभएको हो,’ उनले भने, ‘तत्तकाल पूर्वतिर क्रियाशिल शक्तिसँगको सहकार्यमा एक संयुक्त मोर्चा बनाउनेबारे छलफल भइरहेको छ। त्यसपछि बाँकी कुरा होला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad