डोटीमा सत्तारुढ नेपाली कांग्रेस गठबन्धनको विपक्षमा उभिएको छ।
बिहीबार बसेको जिल्ला कार्यसमिति बैठकले कांग्रेस एक्लै चुनावमा जाने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय समितिले सत्तागठबन्धनलाई चुनावमा निरन्तर दिँदै जाने निर्णय गरेर कार्यदल समेत गठन गरेको छ। अहिले सिट भागबण्डा मिलाउने क्रम जारी छ।
कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको गृहजिल्लामा भने कांग्रेस गठबन्धनको विपक्षमा उभिएको हो।
‘डोटीमा गठबन्धनको आवश्यकता छैन, कांग्रेस एक्लै जित्छ,’ जिल्ला कार्यसमिति सचिव नारायण बलायरले नेपालखबरसँग भने, ‘त्यसैले गठबन्धन नगर्ने निर्णय गरेका छौँ, कांग्रेस एक्लै लड्छ।’
एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनको भागबण्डा पेचिलो बनेको छ।
गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ‘हेभिवेट’ नेताको गृहजिल्ला डोटीमा गठबन्धनलाई भाग मिलाउन सहज छैन।
कांग्रेस सुदूरपश्चिमका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा सदस्यमा दाबी गरेका छन्।
गठबन्धनमा सिट भाग लगाउन सकस परिरहेको छ। गठबन्धन गरे डोटी एकीकृत समाजवादीलाई छोड्नु पर्ने स्थिति आउन सक्ने भन्दै केन्द्रमा दबाब दिन कांग्रेसको जिल्ला तहले गठबन्धन नगर्ने निर्णय गरेको बुझिएको छ।
केन्द्रबाट जबरजस्ती गठबन्धन गरिए कांग्रेसमा ‘विद्रोह’ हुनसक्ने एक नेताले बताए।
‘जबरजस्ती गठबन्धन गरिए हामी विद्रोह गर्छौँ, देशभरिमै स्थानीय तह निर्वाचनमा डोटी उत्कृष्ट नतिजा ल्याएको जिल्लामा पर्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘गठबन्धनको पक्षमा मत हाल्दैनौँ, कार्य समितिले नै राजीनामासम्म गर्छौँ।’
कांग्रेसमा ५८ आंकाक्षी
नेपाली कांग्रेस डोटीले बिहीबार बसेको बैठकले प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार पनि सिफारिस गरेको छ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सांसदका लागि डोटीमा २५ जनाको नाम सिफारिस भएको छ।
प्रतिनिधि सभामा प्रदेश सभापति वीरबहादुर बलायरसहित ९ जनाको नाम सिफारिस गरिएको छ।
आनन्द विष्ट, टेकराज ओझा, भक्त बहादुर बलायर, भरत खड्का, पुष्प कुमार शाही, हर्क देउवा, यज्ञराज पाठक र जितेन्द्र शाही प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएका छन्।
यस्तै, प्रतिनिधि सभामा समानुपातिकतर्फ ६ जनाको नाम सिफारिसमा परेको छ। प्रदेश सभा (१) मा ७ जनाको नाम सिफारिसमा भएको छ।
जसमा अर्जुन खड्का, जीत बहादुर खड्का, नरेन्द्र बहादुर सिंह, घनश्याम पाठक, रामबहादुर रोकाया, भक्तराज जोशी र नन्द सिंह धामी रहेका छन्।
समानुपातिकतर्फ भने १६ जनाको नाम सिफारिस भएको छ। प्रदेश सभा (२)मा प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस भएको छ।
जसमा अर्जुन बलायर, नारायण बहादुर बलायर, पदमराज जोशी, भूमिराज बडू र प्रदीपकुमार देउवा रहेका छन्।
यस्तै, सीताराम जोशी, भक्त बहादुर मल्ल, लक्ष्मीराज पाठक र सर्वजीत रावलको नाम पनि प्रदेश सभा (२)मा प्रत्यक्षतर्फ सिफारिसमा परेको छ। यहाँ समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ।
समाजवादीबाट आले
नेकपा एकीकृत समाजवादी डोटीले पनि उम्मेदवार सिफारिस गरेको छ। पूर्वमन्त्री प्रेमबहादुर आलेको नाम प्रतिनिधि सभामा एकल सिफारिसमा परेको छ।
प्रतिनिधि सभा समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरिएको एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए।
उनका अनुसार प्रदेश सभा (१) मा पूर्णा जोशी, ऐश्वर्या विष्ट, डम्बरुदेव भट्ट र तुलसी शाहीको प्रतिनिधि सभामा समानुपातिकतर्फ सिफारिसमा परेका छन्।
यस्तै, प्रदेश सभा (१)मा पूर्णा जोशी तथा (२) मा हर्क बहादुर सिंह र दीर्घराज बोगटीको नाम सिफारिस भएको छ।
Shares

प्रतिक्रिया