राजनीति


कार्यकर्ताले साथ छाड्दा निर्वाचन क्षेत्रमा बिना मगरलाई अप्ठेरो

कार्यकर्ताले साथ छाड्दा निर्वाचन क्षेत्रमा बिना मगरलाई अप्ठेरो

गोकुल जोशी
भदौ २३, २०७९ बिहिबार १६:५१, कञ्चनपुर

गत प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी बिना मगर १९ हजारभन्दा बढी मत अन्तरले विजयी भएकी थिइन्। तर, निर्वाचन क्षेत्रका कार्यकर्ताले उनको साथ छाड्न थालेपछि आगामी निर्वाचनमा उनलाई कठिनाइ पर्ने देखिएको छ।

तत्कालीन नेकपा विघटनपश्चात् एमाले र माओवादी ब्युँतिएदेखि माओवादी केन्द्रका यस क्षेत्रका केही नेता कार्यकर्ताले पार्टी छोडेका छन्।

मगरको गृहनगर पुनर्वासका वीरबहादुर थापा (पाताल) तत्कालीन नेकपा हुँदा कञ्चनपुरको अध्यक्ष थिए। माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएपछि थापा एमालेमै बसे।

यस्तै, पुनर्वासकै पदम पुजारा लगायतले पनि माओवादी छाडेका छन्। उनी अहिले एमाले पुनर्वास नगर कमिटीको अध्यक्ष छन्। यसपटकको स्थानीय तह निर्वाचनमा एमालेबाट पुनर्वासको मेयर लडेका उनी पराजित भएका थिए।

बेलडाँडी गाउँपालिकामा माओवादीमा बलियो पकड रहेका मानिएका मोहन गिरी, पालिका उपाध्यक्ष लडेकी कल्पना गिरी लगायतले पनि माओवादी छाडेका छन्। उनीहरुलाई केही दिनअगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।

बेलौरी नगरपालिकाबाट माओवादी कार्यकर्ताहरु यज्ञ कँडेल, बलदेब बुडाल, राधाकृष्ण जोशी, रामबहादुर गुरुङ र प्रेमसिंह बोहरा, लालझाडी गाउँपालिकाका खेमराज ओझा लगायतले पनि माओवादी छाडेका छन्।

यसको असर आगामी निर्वाचनमा पर्नसक्ने माओवादीकै नेताहरु बताउँछन्। 

‘लामो समयदेखि पार्टीमा आबद्ध नेता कार्यकर्ताले साथ छोड्दा अवश्य पनि संगठनलाई केही असर परेको छ,’ माओवादीका एक नेताले भने, ‘यसको केही असर स्थानीय तहमा पनि पर्यो।’

एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्रले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने चार पालिकामध्ये बेलौरी नगरपालिकाको मेयर मात्रै जितेको थियो।

नेपाली कांग्रेसले पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै तथा नेकपा एमालेले लालझाडी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बेलौरी नगरपालिकाको उपमेयरमा बाजी मारेको छ।

एमालेको समर्थनमा ०७४ सालको निर्वाचन जितेकी बिना यसपटक पनि चुनाव लड्ने तयारीमा छिन्। यसपटक उनले गठबन्धनबाट साझा उम्मेदवार भएर चुनाव लड्न चाहेकी छन्। त्यसैले सत्तारुढ गठबन्धनमा कञ्चनपुर १ मा माओवादी केन्द्रको सशक्त दाबी छ।

यद्यपि नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले गठबन्धन नगरेर एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ। यहाँबाट कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षका लागि दिवान विष्टको एकल नाम सिफारिस समेत गरेको छ।

२०७० को संविधान सभा चुनावमा मगर कांग्रेसका विष्टसँग पराजित भएकी थिइन्। ०७४ मा भने मगरले उनै कांग्रेसका विष्टलाई पराजित गरेकी थिइन्।

विष्टलाई वाम गठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन्। मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad