सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकका प्रयोगकर्ताले अबदेखि पैसा तिरेर आफ्नो एकाउन्टको ‘ब्ल्यु टिक’ प्रमाणीकरण लिन सक्ने भएका छन्।
मातृकम्पनी मेटाले ११.९९ अमेरिकी डलर प्रतिमहिना रकम लिएर ‘ब्ल्यु टिक’ प्रमाणीकरण गर्ने घोषणा गरेको हो। आईफोन प्रयोगकर्ताले भने १४.९९ अमेरिकी डलर तिर्नुपर्नेछ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा यही हप्तादेखि यो कार्य सुरु हुनेछ। योसँगै सामाजिक सञ्जालमा सुरक्षा र आधिकारिकतामा सुधार आउने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताएका छन्।
यसअघि नै अर्को सामाजिक सञ्जाल ट्विटरले पैसा लिएर प्रमाणीकरण गर्ने कार्य सुरु गरेको छ। गत वर्ष नोभेम्बर २२ देखि ट्विटरका मालिक इलोन मस्कले यो सुरु गरेका थिए।
सामाजिक सञ्जालमा मानिसहरुको आधिकारिकताका लागि यस्तो संकेत राख्ने गरिएको छ।
यद्यपि यसअघि नै प्रमाणीकृत एकाउन्टलाई यसले कुनै असर नगर्ने बताइएको छ।
प्रमाणीकरणका लागि दुवै सञ्जालमा रहेको युजरनेम सरकारी परिचयपत्रसँग मिल्नुपर्नेछ। अरु देशमा यो फिचर कहिलेदेखि सुरु हुने कम्पनीले खुलाइसकेको छैन।
प्रतिक्रिया