मंगलबार रुसी लडाकु विमानले काला सागरमा अमेरिकी जासुसी ड्रोन खसाइदियो। रुसी जेटले ठक्कर दिएर ड्रोनलाई पानीमा खस्न बाध्य पारेको अमेरिकी सेनाको आरोप छ।
आफूहरुले टाढैबाट उडाइरहेको एमक्यू–९ रिपर ड्रोनलाई रुसी एसयू–२७ विमानले अगाडिबाट इन्धन खन्याइदिएको र ठक्कर दिएको अमेरिकाको भनाइ छ।
तर, रुसले भने आफूहरुले केही नगरेको बरु अमेरिकी ड्रोनले खतरनाक कलाबाजी देखाउँदा पानीमा झरेको बताएको छ।
यो युक्रेन युद्ध सुरु भएयता अमेरिका र रुसबीचको प्रत्यक्ष टक्कर हो।
अमेरिकाले काला सागरसम्म पठाएको यो ड्रोन कस्तो हो त?
रिपर अमेरिकी वायु सेनाले सबैभन्दा बढी प्रयोग गर्ने ड्रोन हो। यसलाई गुप्त सूचना संकलन गर्नदेखि सर्च एन्ड रेस्क्यु अपरेसनमा पनि प्रयोग गरिन्छ।
यो ड्रोनले क्षेप्यास्त्र प्रहार गर्न र बम खसाउन समेत सक्छ। तर, धिमा गति र रक्षात्मक हतियार नहुने हुनाले यस्ता ड्रोन सजिलै खसाउन सकिन्छ।
यसलाई चलाउन दुई व्यक्तिको टोली अवाश्यक पर्छ। जसमध्ये एक पाइलट उडान, अवतरण र नियन्त्रणको काम गर्छ भने अर्कोले अर्कोले सेन्सरहरु सञ्चालन गर्नुका साथै निसाना साँध्छ।
यो ड्रोन ३६ फिट लामो हुन्छ भने यसका पखेटाको फैलावट ६६ फिट हुन्छ।
यो ड्रोनले आठ वटा लेजर–गाइडेन क्षेप्यास्त्र, १६ हेलफायर क्षेप्यास्त्र र झण्डै ६ सय किलो इन्धन बोक्छ। त्यति इन्धनका भारमा यो ड्रोन १८५० किलोमिटरसम्म आकासमा रहन सक्छ।
त्यस्तै यो ५० हजार फिटको उचाइमा प्रतिघण्टा ४४२ किलोमिटरका दरले उड्न सक्छ।
लामो दुरीको मिसनका लागि यो ड्रोन डिजाइन गरिएको हो। जुन ३४ घण्टासम्म पनि उड्न सक्छ।
अमेरिकी सेनाले यो ड्रोन प्रतिगोटा ३ करोड २० लाख डलर तिरेर किनेको हो। अमेरिकी सेनाले २००७ मै जेनरल एटोमिक्ससँग ३६० वटा रिपर बनाउने सम्झौता गरेको थियो।
रिपर १९९० को दशकमै अमेरिकाले प्रयोग गरेको एमक्यू–१ प्रिडेटर ड्रोनको उन्नत संस्करण हो। यसमा एउटा इन्जिन हुन्छ।
भिजुअल सेन्सर र क्यामरा जडित यो ड्रोन गुप्तचरी र निगरानीका लागि प्रभावकारी मानिन्छ।
अमेरिकी सेनाले यो ड्रोन इराक, अफगानिस्तान र सिरियालगायतका मुलुकमा प्रयोग गरिसकेको छ। कतिपय मिसनमा यो ड्रोनले सर्वसाधारणको ज्यान समेत लिएको छ। तर, अचूक निसाना हुनाले यो ड्रोनले अन्य क्षति कम गर्ने अमेरिकीहरुको भनाइ छ। एजेन्सी
प्रतिक्रिया