प्रविधि


सामाजिक सञ्जालको लत लगाएको भन्दै मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

सामाजिक सञ्जालको लत लगाएको भन्दै मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

मेटाका अध्यक्ष एवं मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्ग, गत महिना लस एन्जलस सुपेरियर कोर्टमा।


एजेन्सीहरू
चैत १२, २०८२ बिहिबार ११:१, काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यको एक अदालतले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा (फेसबुक/इन्स्टाग्राम) र युट्युबलाई प्रयोगकर्तामा 'जानीजानी लत लगाएको' र मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याएको भन्दै दोषी ठहर गरेको छ।

यो फैसलालाई प्रविधि क्षेत्रमा एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ, किनकि सामाजिक सञ्जालको 'अल्गोरिदम' र 'डिजाइन' का कारण प्रयोगकर्ताको स्वास्थ्यमा असर परेको विषयमा कम्पनीहरूलाई दोषी ठहर गरिएको यो पहिलो ठूलो घटना हो।

के थियो मुद्दा ?
क्यालिफोर्नियाकी २० वर्षीया युवती (जसलाई अदालतमा 'केली' नाम दिइएको छ) र उनकी आमाले यी प्लेटफर्मविरुद्ध मुद्दा दायर गरेकी थिइन्। उनीहरूका अनुसार मेटा र युट्युबले आफ्ना फिचरहरू यसरी डिजाइन गरेका छन्, जसले बालबालिका र किशोरकिशोरीलाई आकर्षित गरी लत लगाउँछ।

मुद्दाका मुख्य बुँदाहरू:

  • लत र मानसिक स्वास्थ्य: सानै उमेरदेखि सामाजिक सञ्जालको लतका कारण युवतीमा चिन्ता (एन्जाइटी), आफ्नो शरीरप्रति असन्तुष्टि (बडी डिस्मोफिया) र आत्महत्या गर्नेसम्मको सोच विकसित भएको।
  • चेतावनीको अभाव: प्लेटफर्मले आफ्ना जोखिमहरूबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी वा चेतावनी नदिएको।
  • फिल्टरको प्रभाव: फोटोमा 'फिल्टर' प्रयोग गर्ने लतले गर्दा आफ्नो वास्तविक स्वरूप स्वीकार्न गाह्रो भएको।

क्षतिपूर्ति र जिम्मेवारीको बाँडफाँट
सात हप्ता लामो निरन्तर बहस र आठ दिनको सघन छलफलपछि जूरीले पीडित युवतीको पक्षमा फैसला सुनाउँदै कुल ३० लाख अमेरिकी डलर (करिब ४० करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउन आदेश दिएको छ। अदालतले यस घटनामा दुवै कम्पनीको संलग्नता र लापरवाहीको मात्रा तय गर्दै जिम्मेवारीको बाँडफाँट समेत गरेको छ।

जूरीको ठहरअनुसार यस प्रकरणमा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटालाई ७० प्रतिशत जिम्मेवार मानिएको छ, जसवापत उसले २१ लाख डलर क्षतिपूर्ति तिर्नुपर्नेछ। त्यसैगरी, बाँकी ३० प्रतिशत जिम्मेवारी गुगल मातहतको युट्युबको टाउकोमा थुपार्दै अदालतले उसलाई ९ लाख डलर जरिवाना गर्ने फैसला सुनाएको छ।

उल्लेखनीय पक्ष के छ भने, यसै विवादमा तानिएका अन्य दुई चर्चित एप टिकटक र स्न्यापच्याटले भने अदालती प्रक्रिया अन्तिम चरणमा पुग्नुअघि नै पीडित पक्षसँग गोप्य रूपमा 'आउट अफ कोर्ट' सहमति गरिसकेका थिए। तर, मेटा र युट्युबले भने कानुनी लडाइँ रोजेका थिए, जसमा उनीहरू अन्ततः दोषी ठहरिएका छन्।

सञ्चारमाध्यमको विश्लेषण
लस एन्जलस टाइम्सले रिपोर्ट गरे अनुसार, जूरीको यो निर्णयले सामाजिक सञ्जाल कम्पनीहरूलाई 'प्रोडक्ट लायबिलिटी' (उत्पादनको जिम्मेवारी) अन्तर्गत उत्तरदायी बनाएको छ। यसअघि धेरैजसो कम्पनीहरूले प्रयोगकर्ताले राख्ने सामग्रीको जिम्मेवारीबाट उन्मुक्ति पाउँदै आएका थिए।

यस्तै, न्यूयोर्क टाइम्सले यस फैसलालाई उल्लेख गर्दै अमेरिकाभरि सामाजिक सञ्जालविरुद्ध दायर भएका करिब १ हजार ५०० मुद्दाहरूमध्ये यो पूर्ण सुनुवाइमा गएको पहिलो मुद्दा हो भनेको छ। यसले आगामी दिनमा अन्य हजारौं मुद्दाहरूको भविष्य तय गर्ने संकेत गरेको छ।
'यो निर्णय सामाजिक सञ्जालको इतिहासमा एउटा 'टर्निङ प्वाइन्ट' हो। अब टेक कम्पनीहरूले नाफाका लागि प्रयोगकर्ताको मानसिक स्वास्थ्यमाथि खेलबाड गर्न पाउने छैनन्,' कानुन विज्ञहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।

मानसिक स्वास्थ्य जटिल विषय
अदालतको यो निर्णयप्रति मेटा र युट्युबले असहमति जनाउँदै पुनरावेदन गर्ने तयारी गरेका छन्। मेटाले किशोर मानसिक स्वास्थ्य एक जटिल सामाजिक विषय भएको र यसका लागि एउटै एपलाई मात्र दोष दिनु

तर्कसंगत नभएको बताएको छ। यता युट्युबले आफू सधैँ सुरक्षित र जिम्मेवार प्लेटफर्म निर्माणमा केन्द्रित रहेको दाबी गरेको छ।

यदि माथिल्लो अदालतले पनि यो फैसलालाई सदर गरेमा, सामाजिक सञ्जाल कम्पनीहरूले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने मात्र नभई आफ्ना अल्गोरिदम र फिचरहरूमा ठूलो परिवर्तन गर्नुपर्ने दबाब सिर्जना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad