कर्णाली सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रवीन्द्र चन्दलाई नियुक्त गरेको छ।
बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सदस्य-सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस गरिएका उम्मेदवारमा चन्दसहित दीपक हमाल र प्रमोद हमाल थिए।
छनोट समितिले गरेको मूल्यांकनमा रवीन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरे भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए।
सदस्य-सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएमा चन्दले नियुक्ति पाएका हुन्।
यस्तो छ रवीन्द्र चन्द ठकुरीको पृष्ठभूमि

रवीन्द्र चन्द ठकुरी नेपाली खेलकुद व्यवस्थापन, फुटबल प्रशासन र बजारीकरण क्षेत्रका एक अनुभवी र बहुआयामिक व्यक्तित्व हुन्।
कर्णाली प्रदेशको दैलेख, चौराठामा जन्मिएका ठकुरी हाल सुर्खेतको वीरेन्द्रनगर-७ का स्थायी बासिन्दा हुन्।
शैक्षिक र प्राविधिक योग्यता
उनले त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातक (बीबीए) र डन बास्को कलेजबाट मार्केटिङ तथा ब्रान्डिङ विषयमा स्नातकोत्तर (एमबीए) पूरा गरेका छन्।
खेलकुदको प्राविधिक पक्षमा पनि विशेष दख्खल राख्ने ठकुरीले एसियन फुटबल कन्फेडेरेसन एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गर्नाका साथै खेलकुद व्यवस्थापन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालारूमा सक्रिय सहभागिता जनाएका छन्।
फुटबल प्रशासन र व्यावसायिक नेतृत्व: हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत ठकुरीले संघभित्र प्रभावशाली भूमिका निर्वाह गरेका छन्।
उनले एन्फाको 'कमर्सियल राइट्स, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति'को संयोजक र 'दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम संशोधन समिति'को सदस्यका रूपमा आफ्नो व्यावसायिक कुशलता प्रदर्शन गरिसकेका छन्।
उनको अब्बल नेतृत्व क्षमता कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मा मार्केटिङ समितिको संयोजक र सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा भेन्यु म्यानेजरको रूपमा सफल प्रमाणित भइसकेको छ।
साथै उनले महिला ओलम्पिक छनोट, साफ यू-२० च्याम्पियनसिप, एएफसी च्यालेन्ज लिग र फिफा विश्वकप छनोटजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थानीय आयोजक समिति (एलओसी) को महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।
आरसी३२ फुटबल एकेडेमी रारा रेन्जर्स र ऐतिहासिक उपलब्धि
ठकुरी आरसी३२ फुटबल एकेडेमी (रारा रेन्जर्स) का संस्थापक अध्यक्ष हुन्। यो क्लब कर्णाली प्रदेश र समग्र पश्चिम नेपालकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल पिरामिड अन्तर्गत 'बी' डिभिजनको यात्रा तय गरेर ऐतिहासिक सफलता हासिल गरेको छ।
सन् २०१५ देखि उनी विभिन्न खेलकुद इभेन्टमा परामर्शदाता (इभेन्ट कन्सलट्यान्ट) का रूपमा समेत सक्रिय छन्।
खेलाडी र प्रशिक्षक जीवन
प्रशासकीय भूमिकामा आउनुअघि ठकुरी एक सफल खेलाडी थिए। उनले क्रिकेटमा यू-१५, यू-१९ र सिनियर टोलीबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् भने छैटौँ राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा सहभागी थिए।
प्रशिक्षकको रूपमा उनले शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा विशेष पकड राख्ने ठकुरी आफ्नो कार्यकुशलता, स्पष्ट भिजन र समर्पणका कारण नेपाली खेलकुदलाई थप व्यावसायिक र उचाइमा पुर्याउन निरन्तर क्रियाशील छन्।
Shares

प्रतिक्रिया