फिफा विश्वकप २०२६ सकिएको एक साता पुग्न लागिसकेको छ। तर विश्वकपका गतिविधिले अझै पनि चर्चा पाइरहेका छन्।
फिफा विश्वकपको अन्तिम सिट्ठी बज्नु भनेको केवल एउटा प्रतियोगिताको समाप्ति मात्र होइन। कतिपय टोली र खेलाडीका लागि यसको अर्थ उपाधि जित्ने सपनाको अन्त्य हो भने केहीका लागि एउटा नयाँ अध्यायको सुरुवात पनि हो।
यसपटक, फिफा विश्वकप २०२६ विश्व फुटबलका केही प्रभावशाली हस्तीहरूका लागि विदाइको समय पनि बनेर आइपुग्यो। म्यानुएल नोयर, नेयमार, रियाद महरेज, गुइलेर्मो ओचोआ र प्याट्रिक शिकले आ–आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिँदै गर्दा लामो समयसम्म आ–आफ्ना राष्ट्रिय टोलीमा अमिट छाप छोडेका छन्।
फ्रान्सका राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसच्याम्पसले पनि अन्तिम पटक प्रशिक्षकको भूमिका निर्वाह गर्दै १४ वर्ष लामो कार्यकालको समापन गरे। विश्वकप उपाधि, महादेशीय प्रतियोगिताहरूमा सफलता र खेलको सबैभन्दा ठूलो मञ्चमा अविस्मरणीय क्षणहरूसहित, उनीहरूले उच्च अन्तर्राष्ट्रिय स्तरमा दशकौँ लामो अनुभव सँगालेका छन्।
आज हामी तिनै खेलाडी र प्रशिक्षकको चर्चा गर्दै छौँ—

म्यानुएल नोयर : खेलको शैली नै परिवर्तन गर्ने गोलकिपर
सन् २००९ जुन २ मा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा म्यानुएल नोयरले पहिलो पटक जर्मनीको राष्ट्रिय टोलीको जर्सी लगाएका थिए।
त्यतिखेर उनले गोलकिपरको भूमिकालाई नै नयाँ परिभाषा दिनेछन् भन्ने कसैले सोचेका थिएनन्।
आफ्नो ‘पेनाल्टी एरिया’भन्दा धेरै बाहिरसम्म निस्किने साहसी खेलशैली, बलमाथिको नियन्त्रणमा देखिने संयमता र खेलको अवस्था बुझ्ने उत्कृष्ट क्षमताका कारण सन् २०१४ को विश्वकप विजेता नोयर आधुनिक ‘बल–प्लेइङ’ (बलमाथि पकड राखेर खेल्ने) गोलकिपरका लागि एक आदर्श उदाहरण बने। साथै, उनको प्रभाव जर्मनीको सीमाभन्दा धेरै टाढासम्म फैलियो।
सन् २०१० मा आफ्नो पहिलो विश्वकप खेल्दै गर्दा नोयरले जर्मनीलाई सेमिफाइनलसम्म पुर्याउन मद्दत गरे। त्यसको चार वर्षपछि, ब्राजिलमा भएको विश्वकपमा जर्मनीको ऐतिहासिक जितमा उनी एक प्रमुख खेलाडीका रूपमा रहे र प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बन्दै ‘गोल्डेन ग्लोभ’ अवार्ड प्राप्त गरे। अल्जेरियाविरुद्धको राउन्ड अफ १६ को खेल उनको नवीन खेलशैलीको उत्कृष्ट उदाहरणका रूपमा रह्यो।
यसअघि नै सन्न्यासको घोषणा गरिसकेका नोयर फिफा विश्वकप २०२६ का लागि राष्ट्रिय टोलीमा फर्किए। प्रतियोगिता सुरु हुनुअघि नै उनले यो पुनरागमन केवल एक पटकका लागि मात्र हुने स्पष्ट पारेका थिए। प्रतियोगिताबाट जर्मनी बाहिरिएसँगै १२८ खेल, पाँचवटा विश्वकप र १७ वर्षभन्दा लामो उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य भयो।

नेयमार : ब्राजिलका सर्वाधिक गोलकर्ता
सेलेसाओ अर्थात् ब्राजिलको राष्ट्रिय टोलीसँग नेयमारको यात्रा त्यहीँबाट सुरु भयो जहाँ १६ वर्षपछि यसको अन्त्य हुनेवाला थियो।
अहिले त्यो यात्राको सुरु र अन्त्यको साक्षी बनेको छ अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियम।
सन् २०१० को अगस्ट १० मा १८ वर्षको उमेरमा अमेरिकाविरुद्धको खेलबाट नेयमारले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सोही खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरे।
यो एक यस्तो करियरको सुरुवात थियो जहाँ नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ता र विश्व फुटबलकै सबैभन्दा चर्चित अनुहारहरूमध्ये एक बन्न पुगे।
उनका सफलताहरूमा सन् २०१३ को फिफा कन्फेडेरेसन्स कपमा ब्राजिललाई उपाधि दिलाउनु तथा सन् २०१६ को ओलम्पिक फाइनलमा जर्मनीविरुद्ध निर्णायक पेनाल्टीमा गोल गर्दै पुरुष फुटबलमा देशका लागि पहिलो स्वर्ण पदक सुनिश्चित गर्नु हो।
दुर्भाग्यवश, चोट, नाटकीय हार र नकआउट चरणबाट हुने पीडादायी बहिर्गमनजस्ता अवरोधहरूका कारण विश्वकप उचाल्ने उनको सपना भने अधुरै रह्यो। फिफा विश्वकप २०२६ मा नर्वेसँगको खेलमा ब्राजिल अन्तिम १६ बाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे।
ब्राजिलका लागि १३० अन्तर्राष्ट्रिय खेल खेलेका उनले ८० गोलको कीर्तिमान बनाएका छन्।

रियाद महरेज : एक स्वर्णिम पुस्ताका कप्तान
रियाद महरेज अल्जेरियाका सबैभन्दा सिर्जनात्मक आक्रमणकारी खेलाडीभन्दा धेरै माथिका व्यक्तित्व थिए। लामो खेल जीवनको दौरान उनी आफ्नो देशमा अन्तर्राष्ट्रिय फुटबललाई नयाँ जीवन दिने व्यक्ति बनेका छन्।
सन् २०१४ मा डेब्यु गरेको केही हप्ताभित्रै महरेज ब्राजिलमा भएको विश्वकप खेल्ने टोलीमा समावेश भए। सो प्रतियोगितामा अल्जेरियाले इतिहास रच्यो र पहिलो पटक विश्वकपको अन्तिम १६ सम्मको यात्रा तय ग¥यो।
तर, उनले आफ्नो सबैभन्दा ठूलो सफलता भने पाँच वर्षपछि हासिल गरे। सन् २०१९ को अफ्रिका कप अफ नेसन्समा उनले अल्जेरियालाई उपाधि जिताए। साथै, सेमिफाइनलमा नाइजेरियाविरुद्ध उनले स्टपेज–टाइममा प्रहार गरेको फ्रि–किक सो प्रतियोगिताको हालैको इतिहासमै सबैभन्दा चर्चित गोलहरूमध्ये एक बन्यो।
उनको देशले विश्वकपका लागि छनोट सुनिश्चित गरेपछि महरेजले सन् २०२६ को संस्करण आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। स्विट्जरल्यान्डसँगको हारपछि उनले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य भएको कुरा औपचारिक रूपमा पुष्टि गरे।

गिलेर्मो ओचोआ : मेक्सिकोका ‘मिस्टर वर्ल्ड कप’
फिफा विश्वकपसँग गुइलेर्मो ओचोआ जति नजिकबाट जोडिएका खेलाडीहरू निकै कम छन्।
सन् २००५ मा मेक्सिकोका लागि डेब्यु गर्दा, उनको यात्राले उनलाई लगातार छ वटा विश्वकपसम्म पु¥याउला भन्ने कसैले सोचेका थिएनन्। यो एउटा यस्तो कोशेढुङ्गा हो जहाँ उनीभन्दा अघि कुनै पनि मेक्सिकन खेलाडी पुगेका थिएनन्।
ओचोआका उत्कृष्ट क्षणहरू प्रायः फुटबलको सबैभन्दा ठूलो मञ्चमै देखिए। सन् २०१४ मा, उनले उत्कृष्ट प्रदर्शन गर्दै आयोजक राष्ट्र ब्राजिललाई निराश बनाएका थिए भने त्यसको चार वर्षपछि जर्मनीमाथि मेक्सिकोको अप्रत्याशित जितमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सन् २०२२ को विश्वकपमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई उत्कृष्ट ढंगले बचाउ गर्दै उनी पुनः विश्वभर चर्चाको केन्द्र बने।
सन् २०२६ मा आफ्नै देशमा आयोजना भएको विश्वकपले एउटा युगको अन्त्य गरेको छ। दुई दशक लामो खेल जीवन विश्वकपको इतिहाससँग अभिन्न रूपमा जोडिएका ती खेलाडीलाई समर्थकहरूले उभिएर ताली बजाउँदै विदाइ गरे।

प्याट्रिक शिक : एक चम्किला चेक खेलाडी
खेल जीवनमा एउटै प्रहारमार्फत इतिहासमा नाम लेखाउन सफल भएका खेलाडीमध्ये पर्छन् प्याट्रिक शिक।
यूईएफए युरो २०२० मा यी चेक स्ट्राइकरले स्कटल्यान्डविरुद्ध लगभग ५० यार्ड टाढाबाट लामो दूरीको प्रहार गर्दै गोल गरेका थिए। उनको यो गोलले विश्वभर चर्चा पायो र पछि यसलाई प्रतियोगिताकै उत्कृष्ट गोल (गोल अफ द टुर्नामेन्ट) घोषित गरियो।
सन् २०१६ मा माल्टाविरुद्धको आफ्नो डेब्यु खेलमै गोल गर्दै उनको अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात भएको थियो। त्यसको दस वर्षपछि, विश्वकपबाट आफ्नो देश बाहिरिएसँगै शिकले आफ्नो खेल जीवन टुंग्याएका हुन्।
विदाइ सन्देशमा उनले यो निर्णय लामो समयदेखिको सोचाइको परिणाम भएको स्पष्ट पारेका छन्। साथै, उनले चेक फुटबलको निरन्तर विकासमा सघाउने र भावी पुस्ताका लागि नयाँ गति प्रदान गर्ने इच्छा पनि व्यक्त गरेका छन्।

डिडियर डेसच्याम्प्स : मैदान र टचलाइन दुवैमा च्याम्पियन
फ्रान्सेली फुटबलमा डिडियर डेसच्याम्प्सजस्तो अमिट छाप छोड्ने व्यक्तित्वहरू निकै कम छन्।
कप्तानका रूपमा उनले सन् १९९८ मा फ्रान्सलाई पहिलो पटक विश्वकपको उपाधि दिलाए।
दुई दशकपछि खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने मारियो जागालो र फ्रान्ज बेकेनबाउरको दुर्लभ कीर्तिमान उनले पनि बराबरी गरे।
सन् २०१२ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेयता, डेसच्याम्प्सले फ्रान्सलाई उच्च स्तरमा उत्कृष्ट र निरन्तर प्रदर्शन कायम राख्न मद्दत गरेका छन्। उनको नेतृत्वमा फ्रान्सेली टोली सन् २०१६ मा युरोपेली च्याम्पियनसिपको फाइनल पुग्यो। सन् २०१८ मा विश्वकप तथा सन् २०२१ मा युइएफए नेसन्स लिग जित्यो र सन् २०२२ मा पुनः विश्वकपको फाइनलमा स्थान बनायो।
५७ वर्षीय डेसच्याम्प्सले सन् २०२६ को विश्वकप सुरु हुनुअघि नै आफ्नो पदबाट बाहिरिने घोषणा गरे। इङ्गल्याण्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेलसँगै १४ वर्ष लामो त्यो युगको अन्त्य भयो, जसमा फ्रान्स निरन्तर रूपमा विश्वका शक्तिशाली राष्ट्रिय टोलीहरूमध्ये एक रहिरह्यो। (फिफाले तयार पारेको रिपोर्टबाट भावानुदित)
Shares

प्रतिक्रिया