समाज


हरिवन-क्यानेश्वर सडक कसले बनाउने? एकअर्काको मुख ताक्दै दुई स्थानीय तह

हरिवन-क्यानेश्वर सडक कसले बनाउने? एकअर्काको मुख ताक्दै दुई स्थानीय तह

नेपालखबर
साउन ६, २०७८ बुधबार ११:३९,

सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर जाने सडकको ट्रयाक खुलेको १० वर्ष बित्यो। तर, यो सडक कालोपत्रे हुनु त परको कुरो, अझै ग्राभेलसमेत भएको छैन।

यो सडक हरिवनस्थित पूर्वपश्चिम राजमार्गबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ७ क्यानेश्वरसम्म १३ किलोमिटर लामो छ। हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने चुरे पहाडमा निर्मित यो सडकको थप स्तरोन्नती नहुँदा झण्डै २५ हजार नागरिकले सास्ती पाउँदै आएका छन्। 

हरिहरपुरगढी गाउँपालिकाका ३ वटा वडा र सिन्धुलीकै मरिण गाउँपालिकाको एउटा वडाका झण्डै २५ हजार नागरिकले यो सडक प्रयोग गर्छन्। हरिवन १ को चुरे क्षेत्रमा बस्ने झण्डै एक सय घर परिवारले पनि यो सडक प्रयोग गर्दै आएका छन्। सडकको झण्डै पाँच किमी भाग हरिवन नगरपालिका क्षेत्रमा पर्छ भने बाँकी सडक हरिहरपुरगढी गाउँपालिकामा पर्छ।

तर, सिन्धुलीको पिछडिएको क्षेत्रका नागरिकको दैनिक जीवनसँग जोडिएको यो सडकको थप स्तरोन्नतीको विषयमा भने दुई स्थानीय तहले एकअर्काको मुख ताक्दै आएका छन्। 

क्यानेश्व क्षेत्रका नागरिकको मुख्य बजार हरिवन हो। क्यानेश्वरकै स्रोतसाधनले हरिवन बजार गुल्जार भएको छ। तर, हरिवनको व्यापारको मेरुदण्ड मानिएको क्यानेश्वर सडकको स्तरोन्नतीमा भने हरिवन  नगरपालिकाले उचित ध्यान नदिएको गुनासो क्यानेश्वर क्षेत्रका नागरिकले गर्दै आएका छन्। 

मंगलबार हरिवन १ को बिलन्दीमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरुले पनि हरिवन नगरपालिकाले वेवास्ता गर्दा यो सडकको थप स्तरोन्नतीमा हुन नसकेको बताए। 

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले यस वर्ष सडकको स्तरोन्नतीको लागि आफ्नो गाउँपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। ‘हाम्रो गाउँपालिकामा स्रोत साधनको कमी छ, फेरि पनि हामीले यो सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेका छौँ,’ उनले भने, ‘तर, हरिवन नगरपालिका स्रोधसाधनमा हामीभन्दा निकै धनी भए पनि यो सडकको स्तरोन्नतीमा ध्यान दिएन, यो दुःखद् पक्ष हो।’

उनले आफ्नो क्षेत्रमा पर्ने सडकको स्तरोन्नती हरिवन नगरपालिकाले गरे सडकलाई चाँडै यातायातका साधन सञ्चालन योग्य बनाउन सकिने बताए। ‘यहाँका जनता यो सडक निर्माणमा ६ महिनासम्म जनश्रमदान गर्न तयार छन्,’ उनले भने, ‘हामीले जस्तै हरिवन नगरपालिकाले यो सडकको स्तरोन्नतीमा ध्यान दिनुपर्यो।’

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेनुका पौडेलले सडकको स्तरोन्नतीको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले १५ लाख रुपैयाँ मात्रै बजेट छुट्याउन सकेको जानकारी दिइन्। ‘यस वर्ष यो सडकलाई उचित ढंगले बजेट बिनियोजन गर्न सकिएन,’ पौडेलले भनिन्, ‘फेरि पनि हामीले यो सडकको खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्ने छौँ।’

माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले हरिवन -क्यानेश्वर सडक निर्माणमा स्थानीय तहको मात्रै बजेटले नपुग्ने बताए। ‘यो सडक निर्माणमा प्रदेश र केन्द्रको बजेट आवश्यक पर्छ,,’ उनले भने, ‘अब हामी त्यसको लागि पहल अघि बढाउने छौँ।’

स्थानीय युवा राजुकुमार लोले सरोकारवाला निकायले वेवास्ता गर्दा हरिवन क्यानेश्वर सडकको स्तरोन्नती हुन नसकेको गुनासो गरे। ‘हामी हिउँदमा धुलोको मारमा छौँ, बर्खामा हिलोको,’ उनले भने, ‘यो गरिब, निमुखा नागरिक हिँड्ने सडकलाई जनप्रतिनिधिले पनि उचित ध्यान दिएनन्।’

सडक गतिलो नहुँदा यहाँ धेरै सवारी दुर्घटनामासमेत परिसकेका छन्। 

कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका नेता डोरमणि भट्टराई, हरिहरपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष बालकृष्ण नेपाल, वडा नम्बर ८ का अध्यक्ष सार्कीमान तामाङलगायतले सडकको स्तरोन्नतीमा सबैको सहयोग आवश्यक पर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .