समाज


फेरि भयावह बन्दै कोरोना संक्रमण, भरिन थाले अस्पताल

फेरि भयावह बन्दै कोरोना संक्रमण, भरिन थाले अस्पताल

यज्ञराज जोशी
साउन २४, २०७८ आइतबार १९:७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक भिडिओ जारी गर्दै कोरोना महामारीले पुनः भयावह रुप लिन लागेको संकेत गरे। तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे।

‘कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेका छन्। म यहाँहरुसँग आग्रह गर्दछु– अत्यन्त आवश्यक परेको बेलामात्रै बाहिर निस्कौँ,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन्।

प्रधानमन्त्री देउवाले संकेत गरेजस्तै नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ। निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ। अर्कोतिर खोप अभियानको गति पनि अत्यन्त सुस्त छ। जसका कारण संक्रमित संख्या बढ्दै गएको छ। पछिल्ला दिनमा अस्पतालका शय्या पनि भरिँदै गएका छन्। 

साउन १३ गते बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा १३७ जना संक्रमित जनरल बेडमा, ९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा थिए। १० दिनपछि शनिबार जनरल बेड संख्या भन्दा बढी बिरामी भर्ना भएका छन्। 

अस्पतालमा कोभिडका लागि १८० जनरल, २० आईसीयू र ९ भेन्टिलेटरसहितका बेड छुट्टाइएको थियो। स्वास्थ्य मन्त्रालयको शनिबारको तथ्यांकअनुसार उक्त अस्पतालमा जनरलमा १९७, आईसीयूमा १६ र भेन्टिलेटरमा ८ बिरामी छन्। 

अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल अहिले बेडभन्दा बढी बिरामीलाई जसोतसो उपचार गरिरहे पनि नयाँ बिरामी आए फर्काउनुपर्ने अवस्था रहेको बताउँछन्। 

‘जता सकिन्छ त्यतै बिरामी एडजस्ट गरेर राखेका छौँ। संक्रमित भएर आउनेको संख्या बढ्दै गएको छ,’ डा. नेपालले भने, ‘बिरामी डिस्चार्ज भएपछि मात्रै उनीहरुको स्थानमा नयाँ बिरामीले भर्ना पाउने अवस्था छ। अहिले नै यस्तो स्थिति छ भने तेस्रो लहर आएमा झन् कठिन हुने देखिन्छ।’

उपत्यकाका अरु सबै अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढ्दै गएको छ। वीरेन्द्र अस्पताल छाउनीका २० वटै आईसीयू र ८ वटै भेन्टिलेटर भरिभराउ छन्। यस्तै २२० जनरल बेडमा ९५ जना संक्रमित उपचाररत छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको पनि आईसीयू र भेन्टिलेटर लगभग भरिएका छन्। अस्पतालमा रहेका २८ आईसीयूमा २० र २२ भेन्टिलेटरमा १९ जना उपचाररत छन्। एक सय जनरल बेड रहेको अस्पतालका शनिबारसम्म ४३ बेड भरिएका छन्। 

त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमितहरु बढ्दै गएका छन्। अस्पतालका ३३९ जनरल बेडमध्ये ७६ संक्रमितले भरिएका छन्। त्यसबाहेक ५१ आईसीयूमा ३४ र २१ भेन्टिलेटरमा ११ बिरामी उपचाररत छन्। 

मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म देशभर ३५ हजार ४३२ सक्रिय संक्रमित छन्। शनिबारमात्रै १३ हजार परीक्षण गर्दा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको थियो। परीक्षणको तुलनामा शनिबारको संक्रमणदर १९.४ प्रतिशत छ। जुन विश्व स्वास्थ्य संगठनका अनुसार अन्त्यन्त उच्च दर हो।

झापा, मोरङ, सुनसनरी, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रेपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, कास्की, बाग्लुङ, गोरखा, रुपन्देही र सुर्खेत अहिले कोरोनाबाट बढी प्रभावित जिल्ला हुन्। यी जिल्लामा ५ सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

आइतबार २ हजार ५४८ जना नयाँ संक्रमित फेला परेका छन् भने ५५ जनाको ज्यान गएको छ। तर, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीले अहिले नै स्थिति भयावह नभइसकेको दाबी गरे। यद्यपि संक्रमण बढ्दै गए पूर्वाधारले नथेग्ने चेतावनी उनले दिए। 

‘भयावह स्थिति तत्काल छैन तर हामी सजग हुनुपर्छ। जोखिम अझै कम भएको छैन। संक्रमण बढिरहेको छ। अस्पतालहरु भरिभराउको अवस्था देखिरहेका छौँ,’ उनले भने, ‘यही क्रममा संक्रमण बढ्दै गयो भने स्वास्थ्यको पूर्वाधारले धान्न नसक्ने अवस्था आउला भनेर प्रधानमन्त्रीको भिडियो सन्देशबाट सचेत गराइएको हो।’
 
मन्त्रालयले कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँच महिने द्रुत कार्ययोजनामा आगामी असोज १५ देखि तेस्रो लहर आउनसक्ने आकलन गरेको छ। अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण छ। त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने तीमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आकलन मन्त्रालयले गरेको छ।  

नेपालमा संक्रमित बढ्दै गएपछि शनिबारदेखि नै मन्त्रालयले ‘नेपाल मास्क अभियान’को पनि सुरुवात गरेको छ। बढ्दो संक्रमण तथा जोखिम यथावतै रहेको अवस्थामा सबै नागरिकलाई सही तरिकाले मास्क लगाउन सिकाई महामारी नियन्त्रणमा सघाउ पुगोस् भन्ने उदेश्यले यो अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। 

‘म पनि मास्क लगाउँछु अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ सञ्चालित अभियान साउन २९ गतेसम्म चल्नेछ। 

प्रधानमन्त्री देउवाले भिडिओ सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएकाले सबैलाई साथ दिन आग्रह गरेका छन्। उनले जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन आग्रह गरेका छन्।

‘बाहिर निस्कनुअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔँ। भौतिक दुरी कायम गरौँ र बेलाबेलामा साबुन पानीले हात धोऔँ। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौँ,’ देउवाले भिडिओमा भनेका छन्, ‘सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन। हामी सबै मिलेर मात्रै यो महामारीलाई तह लगाउन सकिन्छ।’

प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरुलाई भीडभाड हुने गरी कार्यक्रमहरु आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएरमात्रै पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .