समाज


आसेपासेलाई करोडौं बाँड्ने प्रदेश २ सरकारको एसिड पीडितप्रति सौतेनी व्यवहार

आसेपासेलाई करोडौं बाँड्ने प्रदेश २ सरकारको एसिड पीडितप्रति सौतेनी व्यवहार

एसिड आक्रमणमा परेकी आरती/ तस्बिर: सामाजिक सञ्जाल ।


शैलेन्द्र महतो
भदौ ४, २०७८ शुक्रबार २०:१५, जनकपुरधाम

२६ भदौ २०७५ मा राति घरमा सुतिरहेको अवस्थामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता कुमारी दासमाथि अचानक एसिड प्रहार भयो।

एसिड प्रहारबाट जादोलाल दासका दुवै छोरी सम्झना र अस्मिता गम्भीर घाइते भए।

घटना पश्चात पक्राउ परेका स्थानीय ४५ वर्षीय रामबाबु पासवानले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गर्दा दिदी बहिनीमाथि एसिड छ्यापेको बयान दिए।

सम्झना र अस्मितालाई उपचारको लागि काठमाडौं स्थित कीर्तिपुर अस्पतालमा भर्ना गरियो। दलित तथा विपन्न परिवारका जादोलाललाई दुवै छोरीको उपचार गराउन निकै समस्या भयो। आर्थिक सहयोगको लागि अपिल गरे।

मनकारी व्यक्तिहरुबाट सहयोग प्राप्त हुँदै गयो। उपचार चलिरह्यो। घटनाको ८ दिनपछि मुख्यमन्त्री लालबाबु राउत सरकारले एसिड पीडित सम्झना र अस्मिताको उपचारको लागि ५०–५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गर्‍याे।

गम्भीर घाइते दिदी सम्झनाले ११ औं दिनमा ७ असोज २०७५ मा दम तोडिन्। सम्झना जीवित छँदै उपचारको लागि १ लाख रुपैयाँ भन्दा बढी दिन नसक्ने लालबाबु राउत सरकारलाई उनको मृत्युपछि लज्जाबोध भयो। त्यसपछि सम्झनाको मृत्युको चार दिन पश्चात ११ असोज २०७५ मा मृतक परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्‍याे। 

पर्साको वीरगञ्ज महानगरपालिका १३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि २० भदौ २०७६ मा विहानै एसिड आक्रमण भयो।

वीरगञ्ज महानगरपालिका –३ मामाघरमा बसेर कक्षा ९ मा अध्ययनरत मुस्कान विद्यालय गइरहेको बेला एसिड आक्रमण हुँदा उनको अनुहार, छाती र हातको केही भागमा लागेर गम्भीर घाइते भइन्। उनलाई नारायणी उपक्षेत्रीय अस्पतालपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुर हस्पिटल भर्ना गरियो ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार गरेको घटना लगत्तै पक्राउ परेका १६ वर्षीय सम्साद मिया र माजिद आलमले प्रहरीमा बयान दिएका थिए।

सोही दिन मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणबाट घाइते मुस्कानको उपचारको लागि ५ लाख रुपैयाँ दिने घोषणा गरे। यसको विषयमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी गराए।

भोलिपल्ट २१ भदौ २०७६ मा राउत सरकारले मुस्कानको उपचारको लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्‍याे। एक हप्ताभित्रै मुख्यमन्त्री राउत आफैँ अस्पताल पुगेर मुस्कानको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उनको परिवारलाई उपचार खर्चको लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। 

तर, एसिड आक्रमणको ९ महिना बितिसक्दा समेत जनकपुरधाम उपमहानगरपालिका ७ की २१ वर्षीया एसिड पीडित आरती साह र छोरी ३ वर्षीया रिया साहलाई लालबाबु सरकारले अझैसम्म एक रुपैयाँ पनि सहयोग उपलब्ध गराएका छैन।

२९ कार्तिक २०७७ दिपावलीको दिन माइत जनकपुरको जानकी नगरमा बुबा सुवोध साहको घरमा रहेकी आरती माथि एसिड प्रहार भएको थियो। उनकै पति जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहले आरतीमाथि एसिड आक्रमण गरेका थिए। 

एसिड आक्रमणबाट आरतीको दायाँ भागको निधार, अनुहार, आँखा, कान, छाती र हात जलेको छ। आँखा गुमिनै सकेको छ। छोरी रियाको दाहिने हात र निधारमा एसिडको छिटा परेको थियो। 

अरुको घरमा डेरा गरी पेठिया बजारमा तरकारी किनबेच गरी गुजारा चलाउने आरती र उनको बुबा विपन्न छन्। आर्थिक अवस्था निकै कमजोर छ। 

गम्भीर घाइतेपछि कीर्तिपुर हस्पिटलमा उपचार गराउँदा अहिलेसम्म ५ लाखभन्दा बढी खर्च भएको एसीड पीडित आरती बताउँछिन्। जसमा बुवाको दुई लाख रुपैयाँभन्दा बढी खर्च भएको र आफूले ऋण काढेर जसोतसो उपचार गराइ रहेको उनको भनाइ छ। 

सरकारी र सामाजिकस्तरबाट अहिलेसम्म लगभग एक लाख रुपैयाँ आर्थिक सहयोग भएको आरती बताउँछिन्। जनकपुरधाम उप महानगरपालिकाबाट उपचार स्वरुप ५० हजार र सामाजिक रुपमा ४५ हजार रुपैयाँ उनले पाएकी छन्।   

गएको ८ मार्च अर्थात २५ फागुनका दिन नारी दिवसको अवसरमा आरतीलाई प्रदेश सरकारले सम्मान गर्दै चाँडै क्षतिपुर्ति र रोजगारी उपलब्ध गराउने मुख्यमन्त्री लालबाबु राउतले घोषणा गरेका थिए। तर त्यसको ५ महिना बितिसक्दा समेत आरतीलाई क्षतिपुर्तिको कुनै अत्तोपत्तो छैन।

(एसिड आक्रमणमा पर्नुअघिकाे आफ्नाे फाेटाे देखाउँदै आरती ।)

एसिडले आँखा गुमेको, अनुहार बिग्रेको पीडा त आरतीलाई छँदैछ त्यसमाथि उपचार गराएको ऋणको बोझले उनी झन् थलिएकी छन्। गरीबकै छोरी भएको कारण आफू उपचार खर्च पाउन प्रदेश सरकारको प्राथमिकतामा नपरेको आरतीको गुनासो छ । 

‘मुस्कानलाई अस्पतालमै पुगेर मुख्यमन्त्रीले उपचार खर्च दिनुभयो। म पटक पटक मुख्यमन्त्री कार्यालय धाएँ। तर आज भोलि भन्दा भन्दै अहिलेसम्म फुटी कौडी सहयोग गरेनन्। म गरिबको छोरी भएकै कारणले हो’ आरतीले पीडा सुनाउँदै भनिन् ‘नारी दिवसको दिन मलाई बोलाएर मुख्यमन्त्रीजीले माला लगाएर सम्मान गरिदिनु भयो। आश्वासन दिनु भयो। त्यति हो प्रदेश सरकारले गरेको।’

उनले अहिले पनि उपचार गराउन जाँदा ऋण खोजेरै जानु पर्ने बाध्यता रहेको सुनाइन्। आफ्नो छोरीको भविष्य बिग्रेला भन्ने चिन्ताले झनै आरती पिरोलिएकी छन्। 

एसिड आक्रमणको घाउको पीडालाई पैसाले कम गर्न सक्दैन। तर एसिड पीडितहरुलाई गर्ने गरेको सहयोगमा मुख्यमन्त्रीले काखा पाखा गरेको यी तीन घटनाले पुष्टि गरेको छ।

जबकी यो ९ महिनाको अन्तरालमा मुख्यमन्त्री राउतले मुख्यमन्त्री राहतकोषबाट पहुँचवाला र आसेपासेलाई गैरकानुनी रुपमा १७ लाख रुपैयाँसम्म गरी करोडौं रकम बाँडेका छन्।

विपन्न, अशक्त असहायलाई बाँड्नुपर्ने रकम मन्त्री, सांसद र आर्थिक रुपले सपन्न पहुँवालालाई मुख्यमन्त्रीले उपलब्ध गराएका छन्।

तर विपन्न अवस्थाकी एसिड पीडित आरतीलाई कुनै सहयोग उपलब्ध गराउन नसक्नुले मुख्यमन्त्रीको चरम विभेदी मानसिकता छर्लङ्ग भएको पीडितहरूको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .