ad ad

समाज


छविलाल सुवेदी : मोफसलका एक मात्रै उत्कृष्ट निजामती कर्मचारी

भन्छन् : नझर्की सेवा दिऊँ, जनता खुसी हुन्छन्
छविलाल सुवेदी : मोफसलका एक मात्रै उत्कृष्ट निजामती कर्मचारी

यज्ञराज जोशी
भदौ २६, २०७८ शनिबार १५:५८, काठमाडौँ

सरकारले निजामती सेवा दिवसको अवसरमा यसै साता ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गर्यो। 

२०६१ सालदेखि मनाउन थालिएको यो दिवसको अवसरमा सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी र निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ। 

यस वर्ष ८० हजार सरकारी कर्मचारीबाट सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन। त्यसबाहेक उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कार ३० जना सम्मानित हुँदैछन्। 

यसवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० मध्ये ९ जना काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारी छन्। उपत्यका बाहिरका एकजनालाई मात्रै सरकारले पुरस्कार योग्य देख्यो। 

मोफसलबाट पुरस्कारको पाउने कर्मचारी हुन्, म्याग्दीको बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी। ८० हजार कर्मचारीमा मोफसलबाट उनी मात्रै उत्कृष्ट निजामती सेवा पुरस्कारका हकदार बने।

मोफसलबाट एकमात्रै उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत हुँदा उनी खुशी छन। २३ वर्षे सरकारी सेवाको अहिले कदर भएको उनले ठानेका छन्। 

‘देशभरिमा १० जनाभित्र परेर पुरस्कार पाउँदा खुशी छु। मेरो काम र मिहिनेतको मूल्यांकन भएको छ। उपत्यका बाहिरबाट एक्लै पुरस्कृत हुँदा थप गर्व महसुस भएको छ,’ सुवेदीले नेपालखबरसँग भने, ‘कठिन भौगोलिक क्षेत्रमा काम गरिरहँदा मूल्यांकनकर्ताले पनि राम्रोसँग हेरि दिनुभयो भन्ने महसुस भएको छ।’

सुवेदीले व्यक्तिलाई भन्दा विगतदेखि गर्दै आएको कामको मूल्यांकन गर्दै यो पुरस्कारका लागि योग्य ठानिएको महसुस गरेका छन। 

यही भदौ १५ मा सुवेदीको जागिरे जीवन २३ वर्ष नाघ्दैछ। जागिरे जीवनमा उनले धेरै कार्यालयबाट सेवा दिए। नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरेका उनले ८ वर्ष गृहमन्त्रालयमा काम गरे।

त्यसपछि तत्कालीन स्थानीय निकायमा ६ वर्ष, शिक्षा कार्यालयमा ३ वर्ष, हुलाकमा २ वर्ष र संघीयतापछि बनेका विभिन्न स्थानीय तहमा ६ वर्ष काम गरिसकेका छन्। 

उनी नासु भएर पर्वतको शिक्षा कार्यालयबाट कर्मचारी यात्रा थाले। त्यसबेला कार्यालय अपांगमैत्री थिएन। उनकै पहलमा कार्यालयमा र्‍याम्प निर्माण गर्दै अपांगमैत्री कार्यालय बनाइएको थियो। 

सुवेदी पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदा कालीगण्डकी करिडोर प्रशारण आयोजनाको दाना–खुर्केट क्षेत्रबासीलाई मुआब्जा दिलाउनु जागिरे जीवनको ठूलो उपलब्धि मान्छन्। 

त्यस क्षेत्रमा मुआब्जाको कुरा नमिल्दा लामो समय आयोजना अघि बढ्न सकेको थिएन। सुवेदीलाई सरकारले मुआब्जा उपसमितिको संयोजक बनाउँदै उक्त मुद्दा सल्टाउने जिम्मा दिएको थियो। 
पर्वतको ९७ रोपनी जग्गासम्बन्धी मुआब्जाबारे स्थानीयबासी, जनप्रतिनिधि र सरकारलाई मनाउँदै समस्या समाधान गरेका थिए। उनकै पहलमा त्यो विवाद समाधान भएको थियो। 
‘गाउँगाउँमा पुगेर हरेक व्यक्ति व्यक्तिलाई कन्भिन्स गरेर समस्याहरु समाधान गरेँ। त्यहीकारण आयोजना समयमै सम्पन्न हुनसक्यो’, उनले भने, ‘पछि प्रधानमन्त्रीले नै दाना–खुर्कोट सबस्टेशन उद्घाटन गर्नुभयो।’

पर्वतको सहायक प्रजिअबाट सरुवा भएर २०७७ बैशाख १ गतेबाट सुवेदी बेनी नगरपालिकामा हाजिर भएका हुन्। 

बेनी आएदेखि नै उनले पहिलो ध्यान यहाँ हरेक वर्ष आउने बाढी पहिरोको समस्या समाधानतर्फ लगाए। बगर क्षेत्रभित्र फुसको छाना भएका परिवार वर्षेनि बाढी, पहिरो हावाहुरीले पीडित हुँदै आएका थिए। उनको एक वर्षे कार्यकालमा सबै परिवारको घर टिनको छानाले रंगिएका छन्।

यस्तै बेनी बजारको ढल निकासका लागि क्याम्पस चोकतर्फ जग्गा अधिग्रहण र मुआब्जाको ठूलो समस्या थियो। मुआब्जा विवाद मिलाउँदै मन्त्रिपरिषद्मा पुर्‍याएको फाइल नै सदर भएपछि उनले त्यहाँ पनि प्रशंशा बटुले।

‘ढल व्यवस्थापनका लागि जग्गा अधिग्रहण र वडा कार्यालय पनि निर्माण सम्पन्न भएको छ। यो विगत वर्षदेखि नै अड्किएको थियो’, उनले भने, ‘म आएपछि भएको काम हो यो। यसले प्राकृतिक प्रकोपबाट स्थानीयलाई राहात दिलाएको छ।’

उनी नगरपालिकामा आएदेखि नै सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। वडावडामा बैंकका प्रतिनिधि पठाएर लाभग्राहीलाई सम्बन्धित ठाउँमै भत्ता दिने प्रणाली बनाइएको उनले बताए। 

त्यसबाहेक नगरपालिकामा जन्म दर्ता, मृत्युदर्ता, विवाह दर्ता लगायत व्यक्तिगत घटनाको डिजिटाइजेसनको अभिलेखीकरण भइसकेको छ। अनलाइनमार्फत नै घटनाहरूको दर्ता हुने प्रणालीको विकास गरिएको उनले बताए।  

कोरोनाका बेला नगरपालिकाले २० बेडको उपचार केन्द्र, आइसोलेसन, क्वारेन्टिन भवन निर्माणका साथै आवश्यक पर्नेलाई खाद्यान्न लगायत सामाग्रीहरु पनि उपलब्ध गराइएको उनी बताउँछन्। 

सुवेदीले आफू नगरपालिकामा आउँदा अर्को मुख्य समस्या थियो। कार्यालयको आन्तरिक व्यवस्थापन भद्रगोल, जनप्रतिनिधिबीच तनावपूर्ण स्थिति। तर त्यसको व्यवस्थापन गरेपछि अहिले नगरपालिकामा कुनै विवाद नरहेको उनी बताउँछन्। 

‘काम गर्दा मोटिभेसन गराउने कुरामा मैले ध्यान दिएको छु। त्यहीकारण कर्मचारी साथीहरु पनि आफ्नो जिम्माको काम समयमै गर्नुहुन्छ,’ उनी भन्छन्, ‘कर्मचारीहरु मोटिभेट भएपछि व्यवस्थापन गर्न सहज भएको छ। यसले विकास निर्माण प्रभावकारी र प्रकोप नियन्त्रणमा तीव्रता दिन सघाएको छ।’

‘मसँग कसैको गुनासो छैन’

सुवेदीले विगतदेखि वर्तमानसम्म कसैको पनि गुनासो नरहने गरि काम गरेको बताए। जनता नजिक रहेर काम गर्ने कर्मचारीले सेवाग्राहीलाई सन्तुष्ट पार्नु आफ्नो मुख्य उद्धेश्य राख्नुपर्ने बताए। सेवाग्राहीलाई स्पष्ट रुपमा कानुनले नमिल्ने हो भने मिल्दैन भन्ने, मिल्ने हो भने तुरुन्त सेवा दिनुपर्ने उनी बताउँछन्। 

‘हामीले आफैँले समस्या सिर्जना गरिदिनु हुन्न। सेवाग्राहीको समस्यालाई कसरी सुल्झाउन सकिन्छ। त्यसमा प्रयास गर्नुपर्छ,’ उनले भने, ‘सेवाग्राही, कर्मचारी साथीहरुमा मेराप्रति गुनासो पाएको छैन। यसले मलाई थप उर्जा, सन्तुष्टि दिन्छ।’

सेवाग्राहीलाई गरिने व्यवहारलाई एकदमै महत्व दिँदै मिठो बोल्नुपर्ने उनको बुझाइ छ। सरकारी प्रक्रियाबारे सहज रुपमा नझर्की भनिदिँदा सेवाग्राही पनि खुशी भएको अनुभव उनीसँग छ। 

‘सबै कर्मचारीमा काम चोर प्रवृत्ति हुँदैन। तर एकजनाले बदमासी गरिदिँदा पनि सबैप्रति नकरात्मक दृष्टिकोण बन्छ,’ उनले थपे, ‘सबै कर्मचारीले जिम्मेवारी कुशलतापूर्वक खुसीसाथ पूरा गर्दा गुनासो गर्ने ठाउँ हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .