समाज


मेयरले कृषि अधिकृतसँग १२ लाख कमिसन मागेको आरोप, दिन नमान्दा कुटपिट

मेयरले कृषि अधिकृतसँग १२ लाख कमिसन मागेको आरोप, दिन नमान्दा कुटपिट

शैलेन्द्र महतो
असोज ८, २०७८ शुक्रबार १८:१६, काठमाडौँ

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको निर्देशनमा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको कृषि अधिकृत चन्देश्वर ठाकुरले आरोप लगाएका छन्।

शुक्रबार दिउँसो नगरपालिकाकै कृषि शाखामा मेयर दासको निर्देशनमा विदेह नगरपालिका ३ बस्ने शत्रुधन रायले आफूलाई कुटपिट गरेको अधिकृत ठाकुरले आरोप लगाए।

मेयर दासले कृषि शाखा मार्फत भएको कामको १२ लाख रुपैयाँ कमिसन मागेको र सो नदिँदा मान्छे लगाएर गालीगलौज तथा कुटपिट गरेको अधिकृत ठाकुरले दुखेसो पोखे।

‘कृषि शाखा मार्फत विभिन्न कामहरु भएका छन्। मेयर साहेबले त्यसवापत १२ लाख रुपैयाँ पीसी (कमिसन) मागिरहनु भएको छ। पीसी नदिएको निहुँमा कृषि तर्फको पुरानो पेश्की फर्च्छौट गर्न दिनुभएको छैन। सबै प्रमाण जुटाइसकेको छु’ अधिकृत ठाकुरले भने, ‘केही दिनदेखि पीसी माग्दै हुनुहुन्थ्यो। नदिँदा आज कार्यालयमै बसेको बेला शत्रुधन भन्ने व्यक्तिलाई लगाएर म माथि दुर्व्यवहार गरियो।  सत्रुधनले गालीगलौज गर्दै पिठ्युँमा एक लात र गालामा एक झापड हाने।’

सत्रुधनले कुटपिट गरे लगत्तै मेयर आएर अभद्र गालीगलौज गरेको अधिकृत ठाकुरको गुनासो छ। 

‘मेयर साहेब आउनु भो। मलाई भन्नु भो तेरो बाउ हुँ म, मैले भनेको नमान्ने? तँलाई कसैले बचाउन सक्दैन भनेर गालीगलौज गर्नुभयो’ ठाकुरले भने। 

कुटपिट गराउनुमा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत संजिव साहको पनि संलग्नता रहेको अधिकृत ठाकुरले आरोप लगाए। कुटपिट गरेपछि निमित्त प्रशासकीय अधिकृत कहाँ पुग्दा उल्टै  आफूलाई नै हप्काएको गुनासो गरे।

घटना लगत्तै धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई जानकारी गराएको र उजुरी दिन भनेको अधिकृत ठाकुरले बताए।

एक महिनाअघि मेयरका भाइ लखन दासले १० वटा बाख्रा वितरण गरी सय वटाको भुक्तानी लिएको सूचना पत्रकारलाई दिएको निहुँमा पनि मेयरले कुटपिट गराएको अधिकृत ठाकुरको आरोप छ। सो सूचना दिएको बेलादेखि आफूलाई हेय दृष्टिले हेर्ने गरेको उनले बताए। 

वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमाले पनि मेयरको निर्देशनमा  नै अधिकृतलाई कुटपिट गरेको बताएका छन्। बाख्रा वितरणसम्बन्धी सूचना पत्रकारलाई दिएको बेलादेखि नै मेयर दासले अधिकृत ठाकुरमाथि रिसिबी राखेको उनको भनाइ छ। 

यता मेयर दासले जनताको काम नगरेकाले जनताले घेरा हालेको बताए। मेयर दासले जंगिदै भने, ‘तपाईलाई केही बुझ्नु छ भने नगरपालिकामा आउनुस्। बुझ्नुस्।’

केही साता अघि पनि मेयर दासले नगरपालिका कार्यालयमा एक कार्यालय सहयोगीसँग मालिस गराएको तस्बिर सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो।

याे पनि :​ मेयरका भाइले १० बाख्रा वितरण गरी सय वटाको भुक्तानी लिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .