ad ad

समाज


अपहरणकारी छुटेपछि प्रहरीले थाल्यो छानबिन, न्यायाधीश पनि तनावमा

अपहरणकारी छुटेपछि प्रहरीले थाल्यो छानबिन, न्यायाधीश पनि तनावमा

उजिर कार्की
असोज १२, २०७८ मंगलबार २०:२६, काठमाडौँ

प्रमाण नपुगेको भन्दै अदालतले अपहरणकारी छाडेको विषयमा प्रहरीले छानबिन थालेको छ। महानगरीय प्रहरी कार्यालयले गठन गरेको समितिले मंगलबार बैठक बसेर छानबिन सुरु गरेको हो। 

‘उक्त घटना अनुसन्धानमा संलग्न प्रहरीले मिलेमतोमा छाड्न प्रमाण नजुटाएका हुन् कि कोसिस गरेर पनि नपाइएको हो भन्ने विषय पत्ता लगाइन्छ,’ एक उच्च प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘समितिले काम थालिसकेको छ।’

व्यवसायी बाबुराजा रावलको अपहरणको अभियोगमा पक्राउ परेर जिल्ला अदालत काठमाडौँले नै थुनामा पठाएका दुर्गाबहादुर बुढाथोकीलाई अन्तिम सुनुवाइपछि निर्दोष भन्दै छाडिएको छ। दुर्गाबहादुरले आफू अर्कै व्यक्ति भएको अदालतमा बताएका थिए। प्रहरीले उनी दुर्गाबहादुर हुन् भन्ने प्रमाण पेस गर्न सकेको थिएन। 

प्रहरीले नागरिकता पेस गर्न नसकेकै आधारमा न्यायाधीश अम्बिकाप्रसाद निरौलाले उनलाई भारतीय नै भएको ठहर गरिदिए र जेलमुक्त गर्न आदेश दिए। आदेश आएकै दिन छुटेर दुर्गाबहादुर भारत पुगेका छन्। 

यता न्यायाधीश भने फैसलाको पूर्णपाठ तयार गर्नमा व्यस्त रहेको जिल्ला अदालत श्रोतले जनाएको छ। सम्भवतः यसैसाता फैसलाको पूर्णपाठ आउने अदालत स्रोतले बतायो। 

‘पूर्णपाठ आउन समय लाग्ने हो, तर यो फैसलाको पूर्णपाठ छिट्टै तयार पार्नुपर्छ भनेर उहाँ पनि लागिरहनु भएको छ,’ स्रोतले भन्यो।

दुर्गाबहादुरले सर्लाहीबाट नागरिकता लिएको फेला परिसकेको छ। प्रहरीले त्यही नागरिकता पेस नगर्दा उनलाई अदालतले भारतीय नागरिक भन्दै छाडेको थियो। अहिले आएर प्रहरी अधिकारीहरुले अनौपचारिक रुपमा अदालतले बदमासी गरेको आरोप लगाउन थालेका छन्।

‘अदालतको छाड्ने नियत थिएन भने हामीसँग के प्रमाण पुगेन वा केमा शंका लाग्यो, त्यो भनेको भए हामीले जुटाउन सक्थ्यौँ,’ काठमाडौं परिसरका एक प्रहरी अधिकारीले भने, ‘हाम्रो पनि कमजोरी भएको छ।’

दुर्गाबहादुरलाई भारत पुगेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी मुद्दा चलाउन काठमाडौं प्रहरी परिसरमा बुझाएको थियो।

तर, परिसरले सर्लाहीबाट नागरिकता समेत ल्याउन सकेन। दुर्गाबहादुरले आफू भारतीय भएको प्रमाण पेस गरेका थिए। 

उनले नाम परिवर्तन गरेर भारतमा बसेको प्रहरीले पक्राउ गर्नासाथ सार्वजनिक गरेको थियो। प्रहरीले सुरुमै भनेको नक्कली नाम नै प्रमाणित भएपछि उनलाई अदालतले छाडेको हो। 

बुढाथोकीले सफाइ पाएपछि सोमबार महानगरीय प्रहरी कार्यालयका एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

समितिमा अपराध महाशाखाका एसपी कृष्ण कोइराला, मेट्रोकै डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती छन्। 

यता प्रहरीले छानबिन थालेपछि दुर्गाबहादुरलाई सफाइ दिने न्यायाधीश अम्बिकाप्रसाद निरौलाले चासो देखाएका छन्। 

‘छानबिन समिति बनेको केही समयमै उहाँले प्रहरीलाई पटक–पटक फोन गर्नु भएको रहेछ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘समिति बनेपछि स्वयम् न्यायाधीशको पनि चासो बढ्नुले फैसलामा शंका गर्ने ठाउँ देखियो।’

न्यायाधीश निरौलाको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत जाने तयारीमा छ। प्रहरीले पनि अब असली नागरिकतासहित पेस गर्ने छ। तर, दुर्गाबहादुर फेरि उनी दोषी ठहर भएमा उनलाई पक्राउ गर्न भने सहज छैन। 

प्रहरीले १२ वर्ष लगाएर उनलाई भारतबाट ल्याएको थियो। त्यसपछि दुर्गाबहादुर १० महिना पुर्पक्षका लागि थुनामा बसेका थिए।

गत पुस दोस्रो साता सीआईबीको टोलीले भारत नै पुगेर उनलाई पक्राउ गरेको थियो। ०६५ पुस १ गते भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावललाई अपहरण गरी फिरौती लिएको आरोप उनीमाथि थियो। 

दुर्गाबहादुरले अदालतमा तीर्थ क्षेत्रीको नाति, शिवा क्षेत्री र तारा क्षेत्रीको छोरा प्रकाश क्षेत्री भएको बताए।

अभियोग पत्रमा भनिएको व्यक्ति आफू नभएको बताउँदै भारतकै आधारकार्ड समेत पेस गर्दै पश्चिम बंगालमा पर्ने दार्जिलिङ घर भएको दाबी गरे। 

तर, बयानका क्रममा भने उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ। दुर्गाबहादुरले आफू दुर्गाबहादुर भएको र अपहरणमा संलग्नता रहेको स्वीकार गरेको भिडियो समेत प्रहरीले अदालतमा पेस गरेको थियो। 

प्रहरीका अनुसार अपहरणको अभियोगपछि उनी परिचय नै बदलेर दार्जिलिङ बस्दै आएका थिए। सर्लाहीको हरिवन ९ ढुंग्रेखोलाका दुर्गाबहादुर बुढाथोकी दार्जिलिङ पुगेपछि प्रकाश क्षेत्रीको नाममा चिनिन थाले। भारतको आधार कार्डमा पनि उनको नाम प्रकाश क्षेत्री नै भयो। प्रकाश स्टोर नाम राखेर पसल खोले। 

यसअघि सोही मुद्दाका अन्य अपराधीमाथि अदालतले सजाय तोक्दा पनि उनीबारे फैसला भएको थिएन। त्यतिबेला पनि यही समस्या भएको थियो। प्रहरीले उनको तीनपुस्ते खुलाउन नसक्दा उनीविरुद्ध फैसला भएको थिएन।

अपहरण गरेर बन्धक बनाउँदा बाबुराजालाई रुङ्ने काम उनैले गरेको र पछि फिरौती लिन पनि उनै पुगेको प्रहरीको अभियोग थियो। सोही घटनामा संलग्न प्रल्हाद महत, विष्णु जिसी, विकास कार्की, टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङलाई भने अदालतले दोषी ठहर गरेको थियो।

यो पनि:

१२ वर्ष लगाएर समातेको अभियुक्त भारत पुगिसक्दा पनि प्रहरीले सुइँको पाएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .