ad ad

समाज


कुमार पौडेल 'इन्काउन्टर' प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध मुद्दा चलाउन आदेश

कुमार पौडेल 'इन्काउन्टर' प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध मुद्दा चलाउन आदेश

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १२:१०, काठमाडौँ

प्रहरीको 'इन्काउन्टर'मा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

कुमारकी आमा दुर्गादेवी पौडेलले जिल्ला सरकारी वकिल कार्यालय समेतलाई विपक्षी बनाइ दायर गरेको रिटमा असोज ११ गते सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले आदेश प्राप्त भएको ७ दिनभित्र जाहेरी दर्ता गर्न भनेको हो। 

परिवारको जाहेरीमा पूर्व गृह मन्त्री रामबहादुर थापा बादल र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई पनि विपक्षी बनाइएको छ। 

‘यो आदेशको सूचना प्राप्त भएको मितिले ७ दिन भित्रमा आफू समक्ष प्राप्त भएको निवेदकको जाहेरी दरखास्त जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा सनाखत गराउने उपयुक्त व्यवस्था मिलाई ऐ ऐनको अनुसूची ६ बमोजिमको भरपाई निवेदकलाई उपलब्ध गराई यथाशीघ्र यस अदालतलाई जानकारी गराउनु भनि जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीलाई लेखि पठाइ जवाफ प्राप्त भएपछि नियमानुसार इजलास समक्ष पेश गर्नुहोला’, आदेशमा भनिएको छ। 

यसअघि सर्वोच्चले जाहेरी दर्ता हुन नसक्नुको कारण माग गरेको थियो। जसमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत पेश भएको जवाफमा दुर्गादेवी पौडेलको नामबाट हुलाक मार्फत जाहेरी दरखास्त प्राप्त भएको तर जाहेरी दरखास्तको विश्वसनीयता एकिन गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा ३ (क) बमोजिम सनाखत हुन नसकेको भन्ने उल्लेख छ।

सरकारी वकिल कार्यालयले उक्त जाहेरी जिल्ला प्रहरी कार्यालयमा पठाएको भएपनि त्यसपछि के कसो भयो भन्ने नखुलेको सर्वोच्चको आदेशमा उल्लेख छ। 

इन्काउन्टरका नाममा पौडेललाई पक्राउ गरेर हत्या गरिएको राष्ट्रिय मानवअधिकार आयोगले निस्कर्ष निकालेको थियो। 

राष्ट्रिय मानवअधिकार आयोगले पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो। 

आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो। जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो। 

इन्काउन्टरको निर्देशन दिने तत्कालीन आईजीपी सर्वेन्द्र खनाललाई पनि कारबाही गर्न आयोगले निर्देशन दिएको थियो।

पौडेलको गतवर्ष असार ३ गते लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो। 

आयोगको प्रतिवेदनपछि पौडेलका परिवारले जाहेरी दिएपनि प्रहरीले जाहेरी लिन मानेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .