ad ad

समाज


भारतको कमाइ बाटैमा लुटपाट, दसैंका बेला रित्तो हात

भारतको कमाइ बाटैमा लुटपाट, दसैंका बेला रित्तो हात

केही दिनअघि लुटपाटमा परेका नेपाली, उपचार गराउँदै।


गोकुल जोशी
असोज २०, २०७८ बुधबार ७:५२, महेन्द्रनगर

कैलालीको धनगढी उपमहानगरपालिकाका दीपक जोशी भारतको हिमाञ्चलमा स्याउ टिप्ने काम गर्छन्। स्वदेशमा रोजगारी नपाएपछि ५ महिनाअगाडि उनी भारत गएका हुन्।  

उनीसँगै त्यहाँ सयौँ नेपाली स्याउ टिप्ने काम गर्छन्। गत शुक्रबार दसैँ मनाउन भनेर दीपकसँगै १९ जना नेपाली घर फर्किँदै थिए। त्यही क्रममा उनीहरु भारतमै लुटपाटमा परे। 

चाडबाडको खर्च जोहो गरेर घर फर्किरहेका उनीहरु अहिले बेखर्ची भएर घर पुगेका छन्। घर आउन बाटोमा गाडीको प्रतिक्षामा बसेका बेला उनीहरुलाई खुकुरी देखाएर तर्साउँदै पैसा लुटिएको थियो। 

‘घर आउनका लागि बसको प्रतिक्षा गरिरहेका थियौँ। त्यही बेला एक्लै भएको मौका छोपेर हतियार देखाउँदै लुटपाट भयो’, दीपकले भने, ‘कमाएको सबै पैसा लुट्यो, अहिले बेखर्ची भएर घर पुगेका छौँ।’

दीपकसँग घर फर्किरहेका ३ जनाको गरेर १ लाख ३० हजारभन्दा बढी रुपैयाँ लुटिएको हो।  

नेपालीहरुको महान् चाड दसैँ-तिहार नजिकिँदै गएको छ। त्यसकै लागि खर्च जोहो गरेर घर फर्किरहेकाहरु लुटपाट तथा ठगीमा पर्न थालेका हुन्। 

परदेशमा रातदिन नभनी परिश्रम गरेर कमाएको पैसा लुटिँदा उनीहरु रित्तो हात घर फर्किन बाध्य भएका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक दुई हजार बढी नेपाली स्वदेश फर्किरहेका छन्।

दसैँमा पैसा बोकेर आउने नेपालीहरु बाटोमै लुटेराको निशानामा पर्ने गरेको भारतबाट फर्किएका कञ्चनपुरका हरिभान कोली बताउँछन्। 

‘दसैँमा पैसा बोकेका छन् भन्ने थाहा हुनाले हामीहरु निशानामा पर्छौं’ उनले भने, ‘भारतका बस स्टेशन, होटल, गाडी, बाटोमै नेपालीहरु लुटिन थालेका छन्।’

उनका अनुसार भारतमा नेपालीबाटै पनि नेपाली लुटिन बाध्य छन्। केही दिन अगाडि सीमावर्ती सहर बनबासामा सुर्खेत र रुकुमका तीन युवक लुटपाटमा परेका थिए। भारतको अल्मोडाबाट उनीहरुसँगै एउटै गाडीमा आएका कैलालीका एक नागरिकले उनीहरुको साथमा रहेको ५० हजार रकम लुटेका थिए।

सावधानी नअपनाउँदा नेपालीहरु लुटपाटमा पर्ने गरेको शुक्लाफाँटा नगरपालिकाका गोविन्द सिंहले बताए। 

‘यात्राका क्रममा लुटपाटमा पर्ने खास कारण असावधानी नै हो’ उनले भने, ‘एक्लै हिँड्ने, नचिनेको मान्छेले दिएको खानेकुरा खाने, मदिरा सेवन गर्ने लगायत असावधानीले नै लुटपाटका घटना भइरहेका छन्।’ 

भारतबाट आउने नेपाली नागरिकबाट भारतीय बस व्यवसायी र नेपाली अटो व्यवसायीले चर्को शूल्क असुल्ने गरेको बैङलोरबाट फर्किएका बैतडीका करन भुलले गुनासो गरे। 

‘नेपालीहरु घर फर्किरहेको मौका छोपेर भारतीय बस व्यवसायीहरुले दोब्बर/तेब्बर भाडा लिन्छन्। 

आफ्नै देशमा पनि अटोहरु मनोमानी भाडा असुल्छन्।’ उनले भने, ‘तर चाडबाडमा घर आउनै पर्‍याे। त्यसैले बढी भाडा तिरेर भए पनि यात्रा गर्न बाध्य छौँ।’

बसमा सिट क्षमताभन्दा बढी यात्रु राख्दा सास्ती हुने गरेको भारतबाट फर्किनेहरूको  गुनासो छ। 

‘घर आउनेको चाप बढी हुनाले कोचाकोच गरेर आउनु परेको छ’ डोटीका योगेन्द्र विकले भने, ‘बसहरूले पुरा भाडा लिएर गन्तव्यमा नपुर्‍याएर बिच बाटोमै छोड्ने पनि गरेका छन्।’

यता, ईलाका प्रहरी कार्यालय, गड्डाचौकीका सई जीवन गुरुङ विगतभन्दा नाकामा आवागमन सहज भएको दाबी गर्छन्। 

‘हामीले भारतीय प्रहरीसँग नेपाली नागरिकको सहज आवागमनका लागि समन्वय गरिरहेका छौँ’ उनले भने, ‘अहिले त्यस्तो नाकामा सास्ती खेप्नु परेको छैन।’

आवागमनमा सास्ती खेप्नु नपरोस् भनेर नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको सइ गुरुङको भनाई छ। उनका अनुसार भारतमा ठेकेदारले ज्याला नदिँदा ठगिएका कपिलवस्तुका एक दम्पतीको उद्धार गरेर मंगलवार गन्तव्यतर्फ पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .