समाज


खानेपानी प्रमुखमाथि दुर्व्यवहार भए पनि यसकारण संयमता अपनायौँ : सीडीओ

खानेपानी प्रमुखमाथि दुर्व्यवहार भए पनि यसकारण संयमता अपनायौँ : सीडीओ

शैलेन्द्र महतो
कात्तिक ४, २०७८ बिहिबार १९:९, जनकपुरधाम

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरे।

उनीहरुले कार्यालय प्रमुखलाई अर्धनग्न बनाइ हिलो दलेर बजार परिक्रमा गराए। तर, छेउमै रहेका प्रहरीले तत्कालै केही गर्न सकेनन्, मूकदर्शक बनिरहे। 

प्रहरीले हस्तक्षेप नगरेका कारण निमित्त प्रमुख कुशावाहामाथि थप अमानवीय क्रियाकलाप भइरह्यो। 

कुशवाहालाई कार्यालयबाट अर्धनग्न पारेर बजार घुमाइरहँदा झण्डै आधा घण्टापछि मात्र जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिबाट प्रहरीले उद्धार गर्न भ्याए। 

घटनापछि जनमत पार्टीका कार्यकर्ताहरुको समर्थन र विरोधमा विभिन्न प्रतिक्रियाहरु व्यक्त हुन थालेका छन्।

कतिपयले निमित्त प्रमुख कुशवाहाले गलत नै गरेपनि कानुनी बाटो छोडेर अराजक शैलीमा अमानवीय व्यवहार गर्नु गलत भएको भन्दै आलोचना गरिरहेका छन्। कतिपयले देशमा भ्रष्टाचार, अनियमिता बढिरहेको तर, तिनीहरुमाथि कारबाही नभएकाले यो शैलीमा उत्रनु परेको भन्दै जनमत कार्यकर्ताको बचाउ गरेका छन्।

यो घटनाले अन्य सरकारी निकायका प्रमुख तथा कर्मचारीहरु पनि डराएका छन्। प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै आलोचना पनि भइरहेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कार्यालय प्रमुखमाथि एकाएक दुर्व्यवहार भएकाे र प्रहरीकाे संख्या कम भएकाेले तत्काल केही गर्न नसेकेकाे बताए। उनका अनुसार कार्यालयमै यस्तो दुर्व्यवहार सुरु भएको बेला त्यहाँ ८।१० जना मात्र प्रहरी थिए।
 
एकाएक दर्जनौंको संख्यामा लाठी भाटासहित जनमतका कार्यकर्ता पुगेर दुर्व्यवहार गर्दा थाेरै संख्यामा रहेका प्रहरीले केही गर्न नसकेको सीडीओ बास्तोलाको तर्क छ। 

‘कसैलाई थाहै थिएन। एकाएक दर्जनौंको संख्यामा तिनीहरु भाटासहित कार्यालयमा पसे। उनीहरु धेरै संख्यामा थिए। प्रहरी ८।१० जना मात्र थिए। त्यहाँ हात हालिसक्ने स्थिति थिएन’ उनले भने ‘फाइरिङ गर्दा अस्ति मात्र घटना भयो। त्यसैले संयमता अपनाएर फाइरिङ गरिएन। प्रहरीको संख्या बढी भएपछि जनकपुरधाम उपमहानगरपालिका अगाडिबाट उद्धार  गरियो। त्यसकारण उद्धारमा अलि ढिलाई भयो।’

घटना पश्चात निमित्त प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेकाहरुमाथि अपराधको प्रकृति हेरेर कानुन बमोजिम कारबाही गरिने सीडीओ बास्तोलाले नेपालखबरलाई बताए।

यो पनि :

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार घुमाइयो
खानेपानी कार्यालयका प्रमुखलाई अर्धनग्न बजार घुमाउने जनमतका १० कार्यकर्ता पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .