पश्चिमाञ्चल होटल संघ (पोखरा) ले भाइटीका दिन आज (शनिबार) १४औं भाइटीका महोत्सव आयोजना गर्दै छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा दिउँसो महोत्सव आयोजना गरिने भएको हो।
संस्कृतिका माध्यमबाट कोरोना महामारीबीच पनि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोरोना महामारीको मारबाट भर्खरै तङ्ग्रिन लागेको पर्यटन उद्योगलाई महोत्सवले सघाउने उनको विश्वास छ।
महामारीका कारण दुई वर्षयता महोत्सव हुन सकेको थिएन। यसपटक १४औं भाइटीका महोत्सवका रूपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको उनले बताए।
तिहारको सांस्कृतिक पक्षको संरक्षण गर्दै पर्यटक लोभ्याउने लक्ष्य लिइएको महोत्सव आफैंमा मौलिक भएको होटल संघले जनाएको छ।
Shares
प्रतिक्रिया