समाज


मिर्गौला पीडितलाई खोज्दै डाक्टर घरमै पुगे

मिर्गौला पीडितलाई खोज्दै डाक्टर घरमै पुगे

नेपालखबर
असार ६, २०७६ शुक्रबार ४:२३,

साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा.पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने बिरामी जाँच गर्न भ्याइनभ्याई हुन्छ।

बाहिरी दुनियाँभन्दा बिरामीको उपचारमा डा.श्रेष्ठको दिन बित्ने गर्छ। डा.श्रेष्ठलाई सामाजिक सञ्जाल हेर्ने फुर्सद बिरलै हुन्छ। त्यसो त उहाँ फुर्सदमा इन्टरनेटमा समाचार भने खोज्ने गर्छन्।

बुधबार बिहानै डा.श्रेष्ठआफ्नो मोबाइल चलाउँदै जाँदा विभिन्न अनलाइन सञ्चारमाध्यममा पुगे। कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आएका मिर्गौलापीडित हेमन्तसिंह ठकुरीका बारेमा प्रकाशित समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएको थियो।

मिर्गौला रोग विशेषज्ञ डा श्रेष्ठ समाचार पढेपछि बिहीबार मिर्गौलापीडित हेमन्तकै घरमा पुगेका छन्।

डा.श्रेष्ठले मिर्गौलापीडित हेमन्तसँग करीब एक घण्टा बिताए। पीडित हेमन्त र उनकी दिदी सुमित्रासिंह ठकुरीसँग जिज्ञासा राख्दै डा. श्रेष्ठले बिरामीको अवस्था, उपचारलगायतका विषयमा सोधपुछ गरेका छन्।

सो क्रममा उनले पीडित हेमन्तको स्वास्थ्य जाँचसमेत गरेका छन्। डा.श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको छ।

स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्नसमेत समस्या भइरहेका बेला हेमन्तको स्वास्थ्य अवस्था बारेमा चासो राख्दै डा.श्रेष्ठ घरमै पुगेपछि आफ्नो घरमा भगवान् पुगेजस्तो महसुस भएको मिर्गौलापीडित हेमन्तले बताए।

डा श्रेष्ठसँगै नेपालगञ्जको एशोदा फार्मेसी र एशोदा इन्द्रेणी डाइग्नोष्टिकका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुगेका थिए।

उनीहरुले हेमन्तको उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परीक्षण शुल्क व्यहोर्ने बताएका छन्। “हेमन्तको उपचारका लागि हाम्रो तर्फबाट पूर्ण सहयोग हुन्छ”, फार्मेसी सञ्चालकद्वयले भने, “हामीले ल्याब परीक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौँ।”

हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे एक महीनामै हिँड्डुल गर्नसक्ने डा. श्रेष्ठले बताए।

कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि बिरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै २८ वर्षीय हेमन्तलाई भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो।

गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad