ad ad

समाज


दार्चुला सीमामा सास्ती : भारत जान परिचयपत्र अनिवार्य, तीनपुस्ते विवरण टिपाउनुपर्ने

दार्चुला सीमामा सास्ती : भारत जान परिचयपत्र अनिवार्य, तीनपुस्ते विवरण टिपाउनुपर्ने

गोकुल जोशी
मंसिर १५, २०७८ बुधबार १९:५६, काठमाडौँ

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई आवत जावतमा कडाई गरेको छ। दार्चुलाबाट खलंगा पुल भएर धार्चुला प्रवेश गर्ने नेपाली नागरिकमाथि एसएसबीले चेकजाँचमा कडाई गरेको हो।

भारतीय बजार धार्चुला जान नेपालीलाई  एसएसबीले परिचय पत्र अनिवार्य गरेको छ। परिचयपत्र नभए नेपालीलाई भारत प्रवेशमा रोक लगाएको स्थानीय नरेन्द्र सिंह धामी बताउँछन्। 

‘धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेर्ने गर्दछ, भयो भने जान दिन्छन् नभए घर फर्काउँछ,’ उनले भने, ‘अचेल एसएसबीले चेकजाँचमा कडाई गरेका छन्, परिचय पत्र देखाउनै घण्टौँ लाइनमा बस्नु परेको छ।’

भारत प्रवेशमा एसएसबीले कडाई गरेपछि धार्चुला जान दार्चुलाबासीले सास्ती भोग्नु परेको उनको गुनासो छ।

‘एसएसबीले आजभोलि कहिले केही कहिले केही नयाँ नयाँ नियम लगाएर दुःख दिने काम मात्रै गरेको छ। माथिको आदेश भन्दै अचेल त एसएसबीले नाकामा तीन पुस्ते विवरण राख्ने गर्दछन्,’ उनले भने, ‘परिचय पत्र बोक्न भुलेका मानिस त भारत जाने अनुमति नपाउँदा घर फर्किनु पनि परेको छ।’

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मूकदर्शक बनेको उनको गुनासो छ।

‘भारतीय नेपाल आउन त सजिलै छ, केही गर्नु पर्दैन। हामी भारत जाँदा मात्रै किन यती सास्ती खेप्नु पर्ने?’ उनले प्रश्न गर्दै भने, ‘सीमामा एसएसबीले नेपालीलाई दिने दुःख सरकार देखे पनि नदेखे जस्तो गरेको छ।’

सामान किनबेच तथा रोजगारीका लागि दार्चुलाबासी भारततर्फ जाने गर्दछन्। तर, राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्र देखाए मात्रै नेपाली भारत जाने अनुमति पाउँछन्।

केही दिन अगाडि पिथौरागढमा नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिद्धराज जोशीले सीमामा एसएसबीले नेपालीलाई अनावश्यक दुःख दिने गरेको भन्दै भारतीय अधिकारीको ध्यानाकषर्ण गराएर व्यवहार सुधार्न आग्रह गरेका थिए। तर, एसएसबीको व्यवहार सुधारिनुको साटो नेपालीमाथि झनै कडाईका साथ प्रस्तुत हुन थालेका छन्।

यसअघि भारतीय प्रशासनले व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा जनगणना गर्न असहयोग गरेको थियो। भारतले त्यहाँ जाने जनगणना टोलीलाई आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि ४ दिनको जोखिमपूर्ण पैदल यात्रा गरेर नेपाली बाटोबाट टोली छाङरु पुगेको थियो। 

भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .