समाज


जनकपुरका शैक्षिक संस्था तीनदिनका लागि बन्द

जनकपुरका शैक्षिक संस्था तीनदिनका लागि बन्द

शैलेन्द्र महतो
मंसिर २१, २०७८ मंगलबार १४:५०, काठमाडौँ

जनकपुरधामको शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द भएको छ। 

सीताराम विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा तीन दिनको लागि सार्वजनिक विदा घोषणा गरेको छ। 

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले मंसिर २१, २२ र २३ गतेसम्मको लागि तीन दिन सार्वजनिक विदा दिने सूचना जारी गर्दै जानकारी गराएका हुन्। 

सीताराम विवाह पञ्चमी महोत्सवमा हुने भीडभाडलाई मध्यनजर गर्दै विदा दिइएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले विवाह पञ्चमीमा आउने तीर्थालुलाई आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ।  

विवाह पञ्चमीको अवसरमा भोलि बुधबार प्रदेश २ मा सार्वजनिक विदा रहेको छ। प्रदेश २ सरकारले विवाह पञ्चमीको दिन सार्वजनिक विदा छुट्याएको छ। 

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको चौथो दिन आज राम र जानकीको मटकोर विधि मनाइँदै छ। भोलि स्वयम्बर र विवाहको कार्यक्रम हुने छ भने पर्सी बिहीबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ। 

गएको शुक्रबारदेखि सुरु भएको विवाह पञ्चमी महोत्सव अगामी बिहीबारसम्म चल्ने छ। यसअघि शुक्रबार नगरदर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र सोमबार तिल्कोत्सव सम्पन्न भइसकेको छ। 

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ।

विवाह पञ्चमी अवलोकन गर्न देशका विभिन्न भाग तथा छिमेक देश भारतबाट तीर्थालु भक्तजन जनकपुर आउने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .