ad ad

समाज


कोशीमा चरा गणना सुरु

कोशीमा चरा गणना सुरु

कृष्ण बहाब
पुस १७, २०७८ शनिबार १९:५८, इटहरी

मानवीय गतिविधिले कोशीमा चराको संख्या घट्दो रहेको अवस्थामा गणना गरिने भएको छ। 

हजारौंको संख्यामा साइबेरिया लगायतबाट बसाइँ सरेर आउने जलचरा पाउन मुस्किल परेको अवस्थामा गणना गर्न लागिएको हो। 

पछिल्लो समय जलचराको संख्यामा कम हुँदै गएपछि यथार्थ अवस्था र उपस्थिती पत्ता लाउन कोसीटप्पु क्षेत्रमा स्थानीय युवाहरुले शनिबारदेखि गणना सुरु गरेका छन्।

३० वर्षदेखि विभिन्न समूहको सक्रियतामा हुने जलपंक्षी गणना सन् २०१२ देखि कोशीपंक्षी समाजले गर्दै आएको छ। समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जना खटिएका छन्। 

कोशी पंक्षी समाज, वराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोसीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागी भएको अध्यक्ष आचार्यले बताए ।

कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा ५ दिन लगाएर अवलोकन विधिबाट गणना गरिने छ। नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुईवटा डुङ्गामा १०-१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना गर्नेछन्।

पंक्षी अध्ययन केन्द्रका चरा गणक विमल तिम्सिनाका अनुसार बराहक्षेत्रस्थित कोशी नदीको पुलदेखि डुङ्गाबाट दुई दिन लगाएर कोशी ब्यारेजसम्म गणना गरिनेछ। 

कोशी पूर्वको नदी बाहिरको क्षेत्रमा पनि शनिबार र आइतबार तथा सप्तरीतर्फ कमलपुर क्षेत्रका जलाशयमा सोमबार र मंगलबार गणना गरिनेछ।

खासगरी, उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै चरा बसाइँ सरेर आउन थाल्छन्। बढी चिसोले उता चरालाई खानपानमा समस्या भएर जीवनयापन गर्न गाह्रो पर्छ। त्यही भएर हिउँदयामको बढ्दो जाडो छल्न नेपालमा चरा आउने गर्छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .