समाज


धनुषामा जनमत कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरीसहित १३ जना घाइते

धनुषामा जनमत कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरीसहित १३ जना घाइते

शैलेन्द्र महतो
पुस १८, २०७८ आइतबार १८:२३, काठमाडौँ

धनुषामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा ८ प्रहरीसहित १३ जना घाइते भएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारमा जनमत पार्टीका कार्यकर्ताले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा आइतबार दिउँसो झडप भएको हो। 

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन्।  

यस्तै, आन्दोलनकारीको ढुंगामुढा लागेर नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरीका एक जवान गरी आठजना घाइते भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए।

राजमार्गको अवरोध खुलाउने क्रममा आन्दोलनकारीले ढुंगामुढा र लाठी भाटा प्रहार गरेपछि ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरिएको उनले बताए।

रबरको गोली लागेर जनमतका कार्यकर्ताहरू नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन्। उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनमत पार्टीले जनाएको छ। 

यस्तै, घाइते प्रहरीहरुको विभिन्न मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

केही दिनअघि सिरहाको औरही गाउँपालिकाबाट किसानले गहुँको बीउ लुटेर लगेपछि विकसित घटना क्रमलाई लिएर जनमत पार्टीले किसान आन्दोलनको नाममा तराई मधेशका विभिन्न जिल्लामा आफ्ना नेता कार्यकर्ता परिचालन गरी दिनहुँ चक्काजाम, तोडफोड लगायतका गतिविधि जारी राखेका छन्।

यसैबीच, जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रादेशिक अस्पताल जनकपुर पुगी घाइते कार्यकर्तालाई भेटेर अवस्था बुझेका छन्। उनले प्रहरी नरसंहार गर्न खोजेको आरोप लगाउँदै नयाँ ढंगबाट आन्दोलन अघि बढाउने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .