ad ad

समाज


प्रदेश २ को नाम र राजधानीका लागि माघ पहिलाे साता मतदान

प्रदेश २ को नाम र राजधानीका लागि माघ पहिलाे साता मतदान

शैलेन्द्र महतो
पुस २७, २०७८ मंगलबार १६:२५, काठमाडौँ

प्रदेश २ को नाम र राजधानी सम्बन्धी कुनै पनि प्रस्तावमा सर्वसहमति नभएपछि मतदान हुने भएको छ। 

प्रदेशसभामा पेश भएका प्रस्तावहरुमध्ये कुनैमा पनि सहमति नभएकाले माघको पहिलो साता मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ। माघ ३ गते मतदान हुन सक्ने सम्भावना रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए।

गएको पुस ८ गतेको प्रदेश सभा बैठकमा  ‘मधेस प्रदेश’, ‘जानकी’,  ‘मध्य मधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका थिए।

सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलग-अलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

सत्तारुढ नेपाली कांग्रेसले नामको रुपमा ‘मिथिला भोजपुरा’ नेकपा (एकीकृत समाजवादी) ले ‘जानकी’ प्रदेश र कांग्रेसका राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए। नेकपा एसको ‘जानकी’ नाम प्रस्तावमा प्रतिपक्षी नेकपा (एमाले)ले समर्थ गरेको छ। 

यस्तै, राजधानीको रुपमा जनकपुरधामको १ र वीरगन्जको २ गरी ३ वटा प्रस्ताव पेश भएको सचिवालयले जनाएको छ।

नाम र राजधानीको लागि सहमति खोज्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय समिति गठन भएको थियो। तर, दलहरूसँग गरेको छलफलमा कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेको हो। 

सभामुख यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको सचिव यादवले जानकारी दिए।

नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ। प्रदेश सभामा १०४ सांसद छन्।

मधेश प्रदेशको नाम प्रस्तावमा हाल ६३ जना सांसद पक्षमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .