समाज


दिल्ली चल्ने बसमै हुन्छ तस्करी

दिल्ली चल्ने बसमै हुन्छ तस्करी

प्रकाश न्यौपाने
कात्तिक २६, २०७६ मंगलबार ९:७,

कहिले कपडा, कहिले मोटर पार्टस्, कहिले हार्डवेयरका सामान तस्करी, नेपालका विभिन्न ठाउँबाट भारतको दिल्ली चल्ने यात्रुबाहक बसले प्रायः यस्तै किसिमका सामान तस्करी गर्दै आएका छन्। 

सधैंजसो यो रुटमा चल्ने बसमा तस्करी हुँदै आएको छ। पटकपटक प्रहरीले सामान बरामद गर्दासमेत सुधार आउनै सकेको छैन। चालकको तस्करसँग कनेक्सन हुँदा समस्या दोहोरिरहेको छ।

सोमबार मात्रै रुपन्देही प्रहरीले दिल्लीदेखि बुटवल आउँदै गरेको लु १ ख ८४७४ यात्रुवाहक बसमा ठूलो परिमाणमा तस्करी गरी ल्याएका सामान बरामद गरेको छ। प्रहरी बसमा विना भन्सार नेपाल भित्र्याइएका मोटरसाइकलका बिभिन्न पार्टस् बरामद गरेको हो।

‘प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा ठूलो परिमाणमा मोटरपार्टस् भेटिए। यात्रुबाहक बसमा यसरी तस्करी हुनु राम्रो होइन। यसमा हामी अझै कडाई गर्छौं’, रुपन्देही प्रहरी प्रवक्ता (डीएसपी) खड्कबहादुर खत्रीले भने। उनकाअनुसार बसमा फल्स बटम बनाएर पार्टस्हरु तस्करी गरी ल्याइएको थियो। प्रहरीले बसबाट ४ लाख बढीका सामान बरामद गरेको छ। उक्त सामान र बस भन्सार चलान गरिएको छ। बसको भन्सार मूल्यांकन ३० लाख तोकिएको छ।

बसमा ब्रेक शु, लिभर कभर, गियर लिभर, लाइट, ब्रेक पम्प, चेन स्पकेट, रवर पिन, डुक प्लग लगायत भेटिएको छ। नेपालबाट दिल्ली चल्ने बसमा यो मात्रै होइन्, सधैंजसो तस्करी हुन्छ। यसअघि पनि कयौंपटक तस्करीको सामान बरामद भएको छ। भन्सार र सशस्त्र प्रहरीले पनि पटकपटक सामान बरामद गरेका छन्। तर तस्करी रोकिएकै छैन। सीमा क्षेत्रका एक व्यवसायी भन्छन्, ‘दिल्ली चल्ने बसमा प्रहरीले सधै कडाईसाथ चेकजाँच गर्दैन। यदि सधैं राम्रोसँग चेकजाँच गर्ने हो भने दैन्दिन नै सामान यो रुटका बसमा तस्करी हुन्छ।’

यसअघि सशस्त्र प्रहरी बल नम्बर ३८ गुल्म राजस्व भन्सार सुरक्षा बलले बुटवल–दिल्ली चल्ने लु १ ख ६६४९ नम्बरको यात्रुबाहक बसबाट सिटमुनी लुकाएर ल्याएको ६ लाख ५० हजार रुपैयाँ बढीको सामान बरामद गरेको थियो। यस्तै, ना ६ ख ४०३३, लु १ ख ८५५६ नम्बरका बसमा पनि कपडा, हार्डवेयरका सामान तथा पोटरपार्टस् बरामद गरिएको थियो। सीमामा सुरक्षा निकाय र भन्सारले जति कडाई गरे पनि नेपालबाट दिल्ली चल्ने बसमा तस्करी रोकिन सकेको छैन।

तस्करहरुले बसमा जम्मा फल्स बटम गराउँदै तस्करी गर्दै आएका छन्। चालकले त्यसैको मौकामा तस्करसँग कनेक्सन मिलाएर तस्करी गर्दै आएका छन्। यसले तस्करीलाई बढवा दिएको छ। यात्रुबोक्ने गाडी समेत तस्करीमा पटकपटक प्रयोग हुन थालेपछि सीमा क्षेत्रका व्यवसायी निराश छन्। व्यवसायीले तस्करी बढ्दा भैरहवा लगायत आसपासको क्षेत्रमा खरिदविक्री घट्दै गएको भनेर पटकपटक विभिन्न फोरमहरुमा आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .