म्यागेजिन


अभिनय छाडेर समाचारवाचिका बनेकी श्री

अभिनय छाडेर समाचारवाचिका बनेकी श्री

कृष्ण आचार्य
कात्तिक २६, २०७६ मंगलबार ९:१,

केही महिनाअघि समाचार वाचिका श्री पाण्डेका तस्बिर सामाजिक सञ्जालमा छाउन थाले। प्रायः फेसबुक ग्रुप र केही व्यक्तिगत अकाउन्टमा पनि ‘समाचारवाली’ का नामले उनको चर्चा चुलियो।

श्रीले समाचार वाचन गरिरहेका तस्बिर र टिकटक भिडियो एकाएक यसरी भाइरल बने कि एक सातासम्म सामाजिक संजालमा उनको सुन्दरता बहसको विषय नै बन्यो। उनको रुपरङको विषयमा पनि अनेकथरी टिप्पणी हुन थाले।

आफ्नो सुन्दरतालाई लिएर भाइरल बनाइएको प्रति उनी भने दुःखी छिन्। पछिल्लो समय सामाजिक सञ्जालमा पाँचदश जनाले कुनै विषयमा लेख्यो या बोल्यो भने त्यो विषय भाइरल हुने ट्रेन्ड आएको उनको बुझाइ छ।

‘हामीले कसैको रुप–रङलाई भन्दा पनि उसको काम र सबलतालाई प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ श्री भन्छिन्।

अर्कोतर्फ, उनको नाम नै नसुनेका र कहिल्यै उनको समाचार नहेरेकाले पनि फोटो सामाजिक सञ्जालमा आएपछि उनलाई हेर्न भए पनि समाचार हेर्न थाले।

सामान्यतः टिभीमा समाचार हेर्नेको संख्या घट्दै गएको छ। युवा पिँढी त टिभीमा समाचार हेर्दै हेर्दैनन् भने पनि हुन्छ।

‘यस्तो बेलामा युवाहरुमाझ टिभीमा समाचार भन्नेको चर्चाले उहाँहरुलाई टिभीप्रति पनि आकर्षित गर्‍यो भनेर मलाई खुसी लागेको छ,’ उनी हाँस्दै भन्छिन्, ‘मेरो कारणले टिभीको टीआरपी बढ्छ भने त्यो खुसीकै कुरा हो।’

एकाएक भाइरल बनेपछि श्रीलाई लाग्यो, चर्चामा आउन त कलाकार नै हुनुपर्छ भन्ने होइन रहेछ।

shree3

डाक्टरी र अभिनय सँगै लैजाने योजना
पाल्पामा जन्मे–हुर्केकी श्रीको सानैदेखिको रहर थियो, अभिनेत्री बन्ने। उमेर बढ्दै जाँदा त्यो रहर कतिबेला सपना बन्यो उनलाई पत्तै भएन। त्यसैले उनी फिल्ममा नायिकाले गर्ने अभिनयको नक्कल गर्न थालिन्।

‘म पनि यस्तै हुन पाए!,’ श्री ती दिन सम्झन्छिन्, ‘म नायिकाहरुको मेकअप, ड्रेसअपबाट यति आकर्षित भएँ कि मैले आफूलाई सपनाकी नायिका नै मान्न थालेँ।’

तर, परिवारको चाहना उनलाई डाक्टर बनाउने थियो। सोहीअनुसार एसएलसी पास गरेर उच्च शिक्षाका लागि पोखरा पुगेपछि उनी साइन्स पढ्न थालिन्।

तर, उनको नायिका बन्ने रहर भने मरेको थिएन।

‘म परिवारको साइन्स पढाउने सपना पूरा गर्छु र आफ्नो सपना पनि पछ्याउँछु भनेर त्यसबेलाको सपनाको सहर पोखरा गएँ,’ श्री भन्छिन्।

पोखरामा उनले मनोरञ्जन क्षेत्रका अग्रजलाई पछ्याइन्। विस्तारै यस क्षेत्रका व्यक्तिहरुसँग चिनजान हुँदै गयो। केही म्युजिक भिडियोमा पनि काम गरिन्।

shree5

जब एकपछि अर्को सपना टुट्दै गए
केही म्युजिक भिडियोमा खेलेपछि उनलाई पोखरा सानो लाग्न थाल्यो।

‘पोखराले मलाई अभिनय सिकायो, मनोरञ्जन क्षेत्रमा प्रवेश गरायो तर, म योभन्दा माथि जानु छ भने काठमाडौं जानुपर्छ भनेर मेरो सपनाले मलाई घच्घच्यायो,’ श्री राजधानी यात्राको कारण प्रस्ट्याउँछिन्।

२०७१ मा उनी प्लस टुको परीक्षा दिएर काठमाडौं आइन्। सँगसँगै परिवारको सपना पनि बोकी ल्याएकी थिइन्। अर्थात्, श्री काठमाडौं आएर सबैभन्दा पहिला एमबीबीएसको तयारी कक्षामा भर्ना भइन्।

यसरी श्रीको सहर फेरियो, पाल्पाबाट पोखरा, पोखराबाट काठमाडौं। तर, सपना फेरिएन।

‘मलाई डाक्टर र अभिनेत्री एकै पटक बन्नु थियो,’ उनी सुनाउँछिन्, ‘तर आफ्नो सपना त आफ्नै हो। प्राथमिकतामा बढी पर्ने नै भयो। त्यसैले काठमाडौं आएर पुनः म्युजिक भिडियोमा मोडलिङ गर्न थालेँ।’

मोडलिङप्रतिको चासो र रुचीका कारण उनको पढाइ खस्किँदै गयो। उनले एमबीबीएसको परीक्षा पास गर्न सकिनन्।

पहिले उनलाई पछुतो लाग्यो, आफ्नो सपना पूरा गर्ने ध्याउन्नमा मैले परिवारको सपना टुटाएँ। तर, उनी पछुतो मानेर बसिनन्।

डाक्टरी पढ्ने बाटो नखुलेपछि उनी माइक्रोबायोलोजी विषय लिएर कलेज भर्ना भइन्।

म्युजिक भिडियोमा काम गरिरहेकी थिइन्। तर, यो क्षेत्र उनले सोचेजति सहज थिएन। बल्ल उनी रंग क्षेत्रलाई राम्ररी बुझ्न थालेकी थिइन्।

त्यहीबेला उनलाई यो क्षेत्रप्रति वितृष्णा जाग्न थाल्यो।

उनकै शब्दमा भन्ने हो भने राम्रा मान्छेहरुसँग उनको भेट भएन। उनी सम्झौता गरेर सफलताको सिँढी उक्लिन चाहिनन्।

‘जति मेहनत गरे पनि उपलब्धी सोचेअनुसार भएन, न नाम न राम्रो दाम,’ उनी तीतो स्वरमा बोल्छिन्, ‘सकारात्मक सोच भएका मानिससँग मेरो भेट भएको भए सायद मैले बाटो मोड्ने थिइनँ।’

जीवनका दुई ठूला सपना तोडिए। उनले बाटो मोडिन्, लक्ष्य फेरिन्।

अहिले त उनलाई फिल्म खेल्ने प्रस्तावको ओइरो छ। तर, अब उनलाई नायिका बन्नु छैन।

shree2

समाचार वाचनप्रतिको प्रेम
स्नातक पहिलो वर्षमा अध्ययन गर्दै थिइन्। हिमालयन टेलिभिजनमा समाचार वाचिकाका लागि पत्रिकामा विज्ञापन देखिन्। के मुड चल्यो कुन्नि, उनलाई एकपटक आवेदन दिन मन लाग्यो।

फर्म भरिन्। अन्तर्वार्तामा बोलाइयो। महिला हिंसाबारे लेख्न लगाइयो। उनले लेखिन्।

त्यसपछि भ्वाइस र स्क्रिन टेस्ट भयो। सबैमा श्री पास।

‘तपाईंलाई बधाई छ,’ उनले समाचारवाचिका परीक्षामा पास भएको सन्देश पाइन्।

अलिकति डर र उत्साहका साथ चार वर्षअघि दिउँसो ३ः३० बजेको समाचार पढ्न श्री स्टुडियो छिरिन्। उनको ढुकढुकी बढ्यो।

समाचार प्रत्यक्ष पढिन्छ भन्ने उनले केही दिनअघिमात्र थाहा पाएकी थिइन्।

‘एक्सन–कटको अनुभवमा काम गरेको मान्छे, समाचार लाइभ हुन्छ भन्ने थाहा पाएपछि निकै डर लागेको थियो,’ उनी सम्झिन्छिन्।

अड्कनु भनेको बिग्रनु हो, त्यसैले कुनै पनि हालतमा समाचार बिगार्नु हुँदैन भन्ने श्रीको मनमा थियो। डर र संकोचलाई आँट र हौसलाले जित्यो।

‘सबैले राम्रो गर्‍यौ भन्नुभयो, बल्ल ढुकढुकी शान्त भयो,’ श्रीले पहिलो पटक समाचार पढ्दाको अनुभव सुनाइन्।

उता उनले समाचार पढेको परिवारका सदस्यले पनि हेरे। डाक्टर बन्न काठमाडौं गएकी छोरीले समाचार पढेको देख्दा पनि उनीहरुले श्रीलाई हौसला दिन छाडेनन्।

‘तिमी जे गरेपनि राम्रो गर छोरी,’ आमाबुबाले भने। परिवारको यस्तो साथले उनी थप उत्साहित भइन्।

हिमालयनमा दुई वर्ष काम गरेपछि उनी दुई वर्षअघि कान्तिपुर टेलिभिजन गइन्।

समाचार वाचन गर्नु गम्भीर काम लाग्छ उनलाई। ‘

सामाचारवाचकको काम अरुले बनाइदिएको समाचार पढ्नुमात्र होइन,’ श्री भन्छिन्, ‘हरेक मुद्दामा गहिरो अध्ययन पनि गर्नुपर्छ, आफूले पढ्ने कुरामा राम्रो ज्ञान भयो भनेमात्र समाचार वाचन गर्न सम्भव छ।’

shree4

‘टिकटकमा रमाउँछु’
श्री टिकटकमा हिट छिन्। उनका दुई लाख ३४ हजार फलोअर्स छन्। एउटै भिडियो लाखौँ पटक हेरिएका छन्। पछिल्लो साता उनले राखेको एउटा भिडियो १६ लाख पटक हेरिएको छ।

श्रीलाई लाग्छ, उनको अभिनयको रहर यतिबेला टिकटकले पूरा गरिदिएको छ। हुन त समाचार पनि एउटा अभिनय नै हो। हाउ–भाउ मिलाउनुपर्ने, दुःखद् कुरामा निन्याउरो अनुहार लगाउनु पर्ने, रमाइलो कुरामा हँसिलो।

तर, समाचारलाई मनोरञ्जनका रुपमा हेर्न नमिल्ने उनको तर्क छ।

टिकटकलाई भने उनी गम्भीर रुपमा लिन्नन्, केवल मुड फ्रेस गर्ने माध्यम मान्छिन्।

‘म टिकटकमार्फत मनोरञ्जन लिइरहेकी छु,’ श्री भन्छिन्, ‘आफूलाई मन लागेको गर्न पाइन्छ। आफूमात्र नभएर हेर्नेहरुको मुड पनि फ्रेस गर्न पाइन्छ। त्यसैले पनि मलाई मज्जा आइरहेको छ।’

फेरि टिकटक विश्वव्यापी सञ्जाल हो। उनलाई विश्वका विभिन्न देशका नागरिकले पछ्याइरहेका छन्। उनलाई फलो गर्ने नेपालीजत्तिकै संख्यामा भारतीयहरु पनि छन्।

टिकटकमा भिडियो बनाउँदा कहिलेकाहीँ उनको अभिनेत्री बन्ने सपना जागेर आउँछ। अफर आउँदा फिल्ममै जाऊँ कि क्या हो भन्ने लाग्छ। तर, उनलाई आफ्नो पेसा छाड्न मन छैन।

‘सायद मैले समाचारवाचिकाको रुपमा काम गर्दा पाउने सन्तुष्टि अब अन्य पेसाबाट पाउँदिनँ कि!’ श्री आफ्नो पेसाप्रतिको मोह पोख्छिन्, ‘कुन दिन समयले कहाँ पुर्‍याउँछ, थाहा छैन। तर, अहिलेलाई भने मेरो अभिनयको रहर टिकटकबाट मेटाइरहेकी छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .