समाज


भक्तपुरको रानीपोखरी : सेनाको कब्जाबाट मुक्त ३९० वर्ष पुरानो नासो

भक्तपुरको रानीपोखरी : सेनाको कब्जाबाट मुक्त ३९० वर्ष पुरानो नासो

कृष्ण आचार्य
कात्तिक २८, २०७६ बिहिबार १३:२०,

बीचमा अत्यन्त सुन्दर मल्लकालीन रानीपोखरी। त्यसको वरिपरि कलात्मक मूर्ति र पाटी। त्यससँगै खुला र हराभरा स्थान अनि गौचर।

तर, वि.सं. २०४० सालपछि यसको अस्तित्व नै संकटमा पर्‍यो, जब सैन्य तालिम केन्द्रका लागि भन्दै तत्कालीन शाही सरकारले सल्लाघारीमा रहेको ३२ रोपनी क्षेत्रफल अधिग्रहण गर्‍यो।

नेपाल संवत ७५० अर्थात् आजभन्दा ३९० वर्ष पुरानो भक्तपुरको रानीपोखरीसँग भक्तपुरबासीको पनि विशेष सम्बन्ध छ। भक्तपुरका प्रजापति, अवाल, महर्जन, भुसिटु, मानन्धर, धौभडेल, जोन्छेलगायतका समुदायले यहाँ कुल देवताको पूजा गरी देवाली मनाउँथे। अन्य सांस्कृतिक पर्व–समारोह पनि हुन्थे।

तर, सेनाले कब्जा गरेर तारबार लगाएपछि कुल पूजाको दिन रानीपोखरी क्षेत्रमा प्रवेश गर्नसमेत अनुमति लिनुपर्ने भयो। अरु बेला प्रवेशको त कुरै छाडौँ।

pokhari25

सेनाको अधिग्रहणमा परेपछि पोखरीको चारैतिर रहेका कलात्मक मूर्ति र पाटी लोप भए। सेनाले आवासीय महाविद्यालय स्थापना गर्‍यो। आफ्ना भौतिक संरचनाहरु ठड्याउँदै गयो।

रानीपोखरी?

झन्झन् कुरुप बन्दै गयो। कुल देवताहरु माटोमा पुरिए। कतिलाई झाडीले ढाक्यो। सेनाले पोखरीको छेउमै आफ्नो चमेना गृह पनि बनायो।

IMG_8593.jpgउत्खननमा फेला परेको मूर्ति

‘हाम्रो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पोखरी अतिक्रमण भएपछि स्थानीयमा देवालीको महत्व घट्दै गएको छ र सांस्कृतिक पर्वहरु त लोप नै भएका छन्,’ स्थानीय कर्ण अवाल बताउँछन्।

झन्डै ३६ वर्षपछि (१ जेठ ०७६) मा सो पोखरी सेनाको अधिग्रहणबाट मुक्त भएको छ। र, यसको पहल गरेको थियो, भक्तपुर नगरपालिकाले।

रक्षा मन्त्रालय र सैनिक मुख्यालयलाई पत्र लेखेर नगरपालिकाको टोलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग ०७५ चैतमा यसबारे छलफल गर्‍यो।

छलफल भएको दुई महिनामै सेनाले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको रानीपोखरीलाई नगरपालिकाको जिम्मा लगायो। आफ्नो स्वामित्वमा आएलगत्तै नगरपालिकाले पोखरीको उत्खनन् तथा पुनर्निर्माणको काम अघि बढाएको छ।

pokhari24

पुरानै शैलीमा पुनर्निर्माण
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति रानीपोखरी पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको बताउँछन्।

‘हामीले अहिले सो क्षेत्रमा उत्खनन्सँगै पुनर्निर्माण गरिरहेका छौँ,’ मेयर प्रजापति भन्छन्, ‘रानीपोखरीलाई सयौँ वर्ष पुरानो शैलीमा फर्काउने हाम्रो प्रयास छ।’

उत्खनन्का क्रममा शिलापत्रलगायतका महत्वपूर्ण परातात्विक वस्तु फेला परेका छन्। वि.सं. १९७५ देखि २००६ सालसम्मका इँट्टा पनि भेटिएका छन्। जसको अनुसन्धान निम्ति विशेष समिति गठन भएको छ। त्यसैले नगरपालिका छिटो काम सक्नेभन्दा सबै कुरा मिलाएर रानीपोखरीलाई मौलिक शैलीमा ढाल्ने प्रयासमा छ।

नगरपालिका अबको एक वर्षभित्र पुनर्निर्माण टुङ्ग्याउने हिसाबले काम गरिरहेको मेयर प्रजापति बताउँछन्। १२ रोपनी ९ आना क्षेत्रफलमा रहेको पोखरीको डिजाइनअनुसार धमाधम काम भइरहेको छ।

DB9A0703.jpg

वासुकिनार, दक्षिणपट्टीका शिवलिंग, भवानीशंकरलगायतका मूर्ति, पद्माकृति, सत्तलका अवशेष, विशेष सालिकको पनि उत्खनन् गरी पहिलेकै स्थानमा ठड्याइनेछ।

यसका लागि इन्जिनियर, प्राविधिक, पुरातत्वविद्, इतिहासविद्, जानकारहरुको विशेष टोली खटिएको छ।

रानीपोखरी पुनर्निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा एक करोड रुपैयाँ छुट्याएको छ। जसमध्ये ५० लाख खर्च भइसकेको छ।

रानीपोखरीलाई तीन भागमा विभाजन गरी पुनर्निर्माण गरिने प्रजापति बताउँछन्। पहिलो भागमा पानी भरिने छ, दोस्रो भागमा कलात्मक मूर्ति राखिने छ र तेस्रो भागमा पोखरी घुम्न मिल्ने बाटो तथा चार दिशामा पाटीहरु निर्माण गरिने छ। छेउछाउमा रुखहरु रोपिने छ र पहिलेको पुतली बगैंचालाई जगाइने छ।

फर्किइन् हराएकी बहिनी
पोखरीमा भेटिएको शिलालेखलाई आधार मान्ने हो भने भक्तपुरका मल्ल राजा जगज्योतिले बीचभागमा नागको मूर्ति र शिवलिंग स्थापना गरेर न्हू पुखुः (नयाँ पोखरी) बनाएका थिए।

तत्कालीन कान्तिपुरका राजा प्रताप मल्ल भक्तपुरमाथि आक्रमण गर्दा रानीपोखरी भत्काएका थिए। पछि उनले त्यसको नक्कल गर्दै काठमाडौंमा त्यस्तै स्वरुपको पोखरी बनाए।

3 4 2
नगरपालिकाले तयार पारेको पोखरी पुनर्निर्माणको डिजाइन

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राजा जगज्योतिले आफ्नी रानीलाई पोखरी समर्पण गरेपछि यसलाई रानीपोखरी भन्न थालिएको हो।

‘पौष कृष्ण एकादशीदेखि आरम्भ भएको पोखरी निर्माण वैशाख कृष्ण द्वादशी (चार महिना) मा सम्पन्न भएको शिलालेखमा उल्लेख छ,’ श्रेष्ठ बताउँछन्।

वि.सं. १७३५ मा जितामित्र मल्लले पोखरीको जीर्णोद्वार गरेर वास्तुशैली, नागनागिनी, देवीदेवताको मूर्ति स्थापना गरेका थिए।

पोखरीमा रहेको ह्वाङ्ह्वाङ पाटीमा रहेको शिलापत्रमा रानीपोखरीमा वासुकी नागको टाउको, सिद्धपोखरीमा जीउ र नःपुखुमा पुच्छर रहेको उल्लेख छ।

त्यसैले पनि स्थानीयहरु यी तीन पोखरीलाई तीन दिदीबहिनीको रुपमा लिन्छन्।

ती तीनमध्ये लामो समयदेखि हराएकी एक बहिनीलाई भक्तपुर नगरपालिकाले फर्काउँदै छ। त्यसपछि स्थानीयले आफ्नो कुल देवता भेट्न कसैको अनुमति लिइहरनुपर्ने छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .