समाज


डोजर प्रकरणः चालक जेल चलान

डोजर प्रकरणः चालक जेल चलान

नेपालखबर
मंसिर १, २०७६ आइतबार १५:५३,

जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए। यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो। आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो। चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो।

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो। सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन्। प्रहरीले अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमबार जिल्ला प्रशासन कार्यालयले टुंगो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन

बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन।

शुरुमा छानबिन समितिको प्रतिवेदन समय सीमा ४८ घण्टाको राखिएको थियो । उक्त समय सीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो। डोजर प्रकरणका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। सो प्रकरणमा दोषी देखिएकाले कानूनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको समितिले जनाएको छ। छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दशरथचन्द नगरपालिका–९ सुन्नाखानदेखि पार्ससम्म जोड्ने उक्त सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजर चालक बोहराले महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .