नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि नायक पल शाहविरुद्ध तत्काल थुनछेक बहस भने नहुने भएको छ।
गत बिहीबार नै शाहविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
शुक्रबार विदा भए पनि आइतबारबाट थुनछेक बहस सुरु हुनुपर्ने हो। तर जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएकाले त्यहाँ थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो।
जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ।
‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं। त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ’, अदालत स्रोतले नेपालखबरलाई भन्यो।
यसअघि बयानका लागि नवलपुर लगिएको थियो। एक साता गैँडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको हो।
गैँडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैँडाकोटमा मुद्दा दायर भएको हो। एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। तर तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ।
तनहुँमा पनि केही दिन भित्रैमा मुद्दा दर्ता हुने भएको छ। अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गरिसक्नुपर्छ।
गत फागुन १५ गते आफैँ प्रहरी कार्यालयमा हाजिर भएका शाह हिरासतमा रहेको २१ दिन भएको छ।
पछिल्लो पटक गत शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि पहिलो पटक ७ दिन र दोश्रो पटक १२ दिन म्याद थप गरिएको थियो।
जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको छ।
१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानुनी व्यवस्था छ। १४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।
Shares

प्रतिक्रिया