प्लस टूपछि काभ्रेपलान्चोकका रेसम केसी विदेश गएर पढ्न चाहन्थे। उनले जापान जाने निर्णय गरे।
‘त्यहाँको हावापानी, खानपान र काम गर्दै पढ्न पाउने सुविधाका कारण म आकर्षित भएँ,’ शुक्रबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा ‘नो अब्जेक्सन लेटर’ लिनेहरुको लाइनमा भेटिएका उनी भन्छन्।
उनलाई चिन्ता थियो, ‘आज पनि काम भएन भने? जापानी कलेजले चाँडै शुल्क रकम जम्मा गरिदिनु भनेको छ। आजै डकुमेन्ट बनेन भने पैसा हाल्न ढिला हुन्छ। ढिला भयो भने क्यान्सिल हुन्छ। त्यसपछि अहिलेसम्मको मेहनत खेर जान्छ। मलाई यहाँ निकैबेर झुलाइयो। यताको कर्मचारीले उता जा भन्छ। उताकोले यता पठाउँछ।’
उनकै पछि लागेका हामीले देख्यौँ– प्रमाणीकरण गर्ने कोठामा कर्मचारी नभएपछि त्यहाँबाट उनलाई ७ नम्बरमा पठाइयो। तर त्यहाँ काम भएन बरु उल्टै कर्मचारी आक्रोशित सुनिए। भने, ‘यो काम हाम्रो होइन, ३ नम्बर कोठामा जानुस्।’
अब त काम हुनेभयो भन्दै फटाफट गएका उनी त्यहाँ पनि धेरैबेर अलमलिए। आधा घण्टापछि बल्ल त्यही कोठामा उनको एनओसी प्रमाणीकरण भयो।
वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थीहरुको लामो लाइन थियो। काम ढिला भइरहेको थियो। बेलाबेला कोठाभित्र कर्मचारी हँुदैनथे। भएका ठाँउका कर्मचारी पनि बेलाबेला भन्थे, ‘अनलाइन सर्भरमा समस्या आउँछ। स्लो हुन्छ।’ कसैले पछाडिबाट भन्यो, ‘हाम्रो सरकार नै स्लो छ।’
उसैपनि शुक्रबार कार्यालय चाँडै बन्द हुन्छ। पालो आएन भने काम हँुदैन भन्ने चिन्तामा थिए अधिकांश विद्यार्थी।
चिन्तित मुद्रामा उभिएकी थिइन नमि घिसिङ पनि। उनी पनि नो अब्जेक्सन लेटर र विदेशी मुद्रा सटही सुविधा सिफारिस पत्रका लागि आएका थिइन्। उनको लागि भने यो पहिलोपटक थिएन। १ वर्षअघि कोरोनाको कारणले रोकिएको प्रक्रिया फेरि सुरु भएको थियो।
‘हिजो पनि आएको, काम बनेन। आज बिहान पनि आएर फर्किएँ। बैंकको थप डकुमेन्ट चाहिने भएपछि अहिले फेरि आएँ,’ उनले भनिन्।
अस्ट्रेलिया जान खोजिरहेकी उनले त्यहाँको काम निकै झञ्झटिलो रहेको बताइन्। अन्यौलमा भौँतारिरहेका विद्यार्थी र कर्मचारीको झर्कोफर्को हेर्दा उनको भनाइ सही थियो।
‘देशमा रोजगारी र राम्रो शिक्षा छैन,’ उनले भनिन्, ‘बाहिर जाने प्रोसेस पनि सहज हुँदैन। पासपोर्ट बनाउन पनि उस्तै दुःख भयो।’
उनी साउनमै राहदानी बनाउन गएकी थिइन्।
‘६ बजे राहदानी विभाग पुग्दा मानिसको भिड थियो, खुट्टा टेक्ने ठाउँ थिएन,’ उनले भनिन्, त्यतिबेला पनि निकै गाह्रो भयो। पासपोर्टको लागि आवश्यक सबै कागजात तयार पारेर फाइल नै बोकेर २ दिन धाउनुपरेको थियो।’
विदेशिनुपर्ने कारण घिसिङले यसरी खुलाइन्, ‘पढाइसँगै काम पनि गर्न पाइन्छ। यहाँ काम पाइँदैन, कमाइ पनि हुँदैन।’
अधिकांशको ठहर त्यही थियो, ‘विदेशमा करिअर, पढाइ र काम पाइन्छ।’
त्यसमाथि सरकारी कार्यालयका यस्तो अल्झन बेहोरेका उनीहरुलाई फेरि नेपाल फर्किन मन लाग्दैन। धेरैको योजना विदेशमै स्थायी बासिन्दा बनेर सहज जीवनयापन गर्ने हुन्छ।
झापाका सुनिल केसी स्नातकोत्तर तहमा चिकित्सा शिक्षा अध्ययन गर्न भारत जान चाहन्छन्। त्यसैका लागि नो अब्जेक्सन लेटर लिन धाइरहेका छन्।
बुधबारदेखि वैदेशिक अध्ययन अनुमति शाखामा धाउन थालेका उनको काम शुक्रबारसम्म पनि भएको थिएन।
कर्मचारीको व्यवहारले उनलाई दिक्क बनाएको छ।
‘दैनिक लामो समय लाइनपछि बल्ल पालो आउँछ। अनि डकुमेन्ट नपुगेको भन्दै रित्तो हात फर्कनुपर्छ। कहिले के पुग्दैन, कहिले के,’ उनी भन्छन्।
अहिले दैनिक सयौँ विद्यार्थी एनओसी लिने पुग्छन्। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेलका अनुसार १२ कक्षा उत्तीर्ण गरेका चार लाख विद्यार्थीमध्ये एक लाखले एनओसी लिइसकेका छन्।
१२ कक्षा उत्तीर्ण गरेर आएका ४ लाख विद्यार्थी मध्ये १ लाख ‘नो अब्जेक्सन लेटर’ मा छन्। अन्य डेढदेखि दुई लाख विद्यार्थी कहाँ छन्, हामीलाई थाहा छैन।’
धेरैले विदेशिन ठूलो मात्रामा ऋण समेत लिएका छन्।
१० हजार विद्यार्थी जापान जाने पर्खाइमा
शिक्षा मन्त्रालयका अनुसार नेपालीहरूले ७४ देशमा पढ्न जान पाउने अनुमति पाउँछन्। त्यसमध्ये पनि अस्ट्रेलिया र जापान धेरैको रोजाइमा परेको छ।
२०२० देखि मात्रै जापान जान १४ हजार जनाले अध्ययन अनुमतिपत्र लिइसकेका छन्। एनओसी लिएकामध्ये अधिकांश विद्यार्थी रोकिएका छन्। करिब १० हजारले प्रक्रिया गरिरहेको र कलेजमा पैसा पठाइसकेका ७ हजार जना जान बाँकी रहेको नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले बताए।
उनका अनुसार जापान जान विद्यार्थीले कम्तीमा १ सय ५० घण्टा भाषा सिकेको हुनुपर्छ। त्यस्तै ६ महिनाको ट्युसन शुल्क र तीन महिनाको होस्टेल शुल्क गरेर नौदेखि १० लाख रुपैयाँसम्म जानुअघि नै बुझाउनुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया