ad ad

समाज


सरकारले चीनलाई पठायो ७२५ विद्यार्थीको सूची

चिनियाँ राजदूत भन्छिन् : चाँडै नेपाली विद्यार्थी फिर्ता लान्छौँ
सरकारले चीनलाई पठायो ७२५ विद्यार्थीको सूची

सन्तोष घिमिरे
बैशाख ८, २०७९ बिहिबार २१:३१, काठमाडौँ

सरकारले चीनमा अध्ययनका लागि फर्किन प्रतीक्षारत ७२५ जना नेपाली विद्यार्थीको सूची चीन पठाएको छ। 

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयमा फर्किन चाहेका विद्यार्थीको सूची चीन सरकारलाई पठाएको हो। 

शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले ७२५ जना विद्यार्थीको सूची परराष्ट्र मन्त्रालय मार्फत् चीनलाई पठाइसकिएको जानकारी दिए। 

उनका अनुसार केही साताअघि चीन सरकारले तत्काल चीनमा अध्ययनका लागि फर्किन चाहेका विद्यार्थीको सूची सरकारसँग मागेको थियो। चीनले चरण—चरणमा गरी नेपाली विद्यार्थीलाई लैजाने तयारी गरेको छ। 

‘चीनले पहिलो चरणमा कहिले विद्यार्थी फिर्ता लैजान सुरु गर्छ यकिन मिति भनिसकेको छैन। अब एक–दुई हप्ता लाग्ला कि?’ शिक्षा सचिव कोइरालाले नेपालखबरसँग भने। 

उनले अन्य मुलुकका विद्यार्थी पनि कोरोनाका कारण नेपालमा रोकिएको बताए। 

‘तर अन्य मुलुकमा भन्दा चीन जान नपाउने विद्यार्थीको संख्या ठूलो छ,’ सचिव कोइरालाले भने। 

शिक्षा मन्त्रालयले गत चैत अन्तिम साता एक सूचना निकालेर चीन लगायत देशका उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीका बेला नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदनसहित आफ्नो विवरण पठाउन भनेको थियो। 

यसैबीच, नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाली विद्यार्थीलाई व्यवस्थित रुपमा चाँडै चीन फर्काउनबारे चीन र नेपालका परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको प्रतिक्रिया दिएकी छिन्। 

‘चीनका विश्वविद्यालय नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छन्। उनीहरुलाई अनलाइनका माध्यमबाट पढाइरहेका छन्। साथै मनोवैज्ञानिक परामर्श पनि दिइरहेका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत होउले भनिन्। 

चीन र नेपालबीचको हवाई उडान नियमित गर्न र नेपाली विद्यार्थीको चीन फिर्तीका सम्बन्धमा नेपालको चासोबारे चीन जानकार रहेको उनले बताइन्। 

महामारीको पृष्ठभूमिमा चीनमा मात्रै नभएर विश्वभर नै विद्यार्थीहरु पढ्न जान नपाएको समस्या रहेको राजदूत होउले उल्लेख गरिन्। 

‘नेपाली विद्यार्थीलाई चरण—चरणमा गरी चीन फर्काइनेछ। उनीहरुको चीनमा चाँडै फिर्ती हुनेछ,’ उनले भनिन्। 

नेपाल र चीनबीच हवाई उडान कहिले खुल्छ भन्नेबारे राजदूत होउले स्पष्ट जवाफ दिन सकिनन्। तर, उनले विगतमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले एकपक्षीय रुपमा चीनसहित धेरै मुलुकमा हवाई उडानमा प्रतिबन्ध लगाएको उल्लेख गरिन्। 

‘चीनसँग अहिले पनि अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन। नेपाली विद्यार्थी लगायत मानिसको आवत–जावत कठिन भइरहेको छ। आशा गरौँ, क्रमिकरुपमा हवाई उडान नियमित हुनेछ,’ राजदूत होउले भनिन्। 

चीनमा अध्ययरत करिब दुई हजार नेपाली विद्यार्थी कोरोना महामारीका कारण बीचमै पढाइ छाडेर नेपाल आउन बाध्य भएका थिए। कोरोना संक्रमण दरमा कमी आएसँगै फर्किनका लागि उनीहरुले सरकारी निकायमा हारगुहार गर्दै आएका छन्। नेपालले त्यसखालको मर्कामा परेका विद्यार्थीलाई चीन फर्काइदिन कूटनीतिक च्यानलबाट पटक—पटक आग्रह गरिसकेको छ। 

गत चैत दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री नारायण खड्काले पनि नेपाली विद्यार्थीको चीन फिर्तीको लागि आग्रह गरेका थिए। त्यस क्रममा वाङले नेपाली विद्यार्थी चाँडै चीन फर्काउने आश्वासन दिएका थिए। उनले प्राथमिकताका आधारमा नेपाली विद्यार्थीलाई चीन फर्काउने बताएका थिए।

परराष्ट्र मन्त्रालयका एक अधिकारी चीनले केही सातामा नेपाली विद्यार्थी फर्काउने तयारी गरिरहेको बताउँछन्। 

‘पटक—पटकको ताकेतापछि विद्यार्थी फर्काउने कामले मूर्त रुप लिँदैछ। चीनमा अहिले फेरि कोरोना संक्रमण दर बढेको छ। त्यसका कारण पनि चीन सतर्क भएको हुनसक्छ। तर, केही सातामै उनीहरुले विद्यार्थी फिर्ता लैजाने संकेत दिइसकेका छन्,’ ती अधिकारीले नेपालखबरसँग भने।  

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर स्वदेश फर्किन बाध्य भएका थिए। दुई वर्ष बिते पनि उनीहरुको चीन फिर्तीबारे कुनै टुंगो लाग्न सकेको थिएन। 

चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश थिए भने नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको थियो। दक्षिण कोरिया लगायत मुलुकबाट विद्यार्थी फिर्ता लिए पनि नेपालबाट विद्यार्थी फिर्ता नलगेपछि चीनको समेत आलोचना भएको थियो। 

चिनियाँ अधिकारीले एकैचोटि विदेशबाट लाखौँ विद्यार्थीलाई फर्काउँदा कोरोना संक्रमण दर बढ्न सक्नेप्रति आफूहरु चिन्तित रहेको बताउँदै आएका थिए। चीनले दक्षिण कोरिया तथा युरोपका केही मुलुकबाट विद्यार्थीलाई केही महिनाअघि नै फर्काएको थियो। 

नेपाल, पाकिस्तान, बंगलादेश र भारतबाट चीनमा अध्ययनका लागि गई कोरोना महामारीका बीच घर फर्केपछि अध्ययन पुरा गर्न नपाएका विद्यार्थीलाई भने चीन फर्किन दिइएको छैन। भारत, बंगलादेश र पाकिस्तानले पनि यसबारेमा चिनियाँ पक्षसँग बारम्बार कुरा उठाइसकेका छन्। 

विशेषगरी चिकित्सा शिक्षाअन्तर्गत एमडी, एमएस, एमडीएस र एमबीबीएससहित विभिन्न संकायका पीएचडी, एमबीए र इन्जिनियरिङका नेपाली विद्यार्थीहरू चीनमा कोरोना संक्रमण बढेपछि सन् २०२० को सुरुमै स्वदेश फर्किका थिए। 

कोरोना महामारीका बीच चीनको वुहानबाट नेपाली विद्यार्थीलाई सरकारले आफ्नै खर्चमा समेत उद्धार गरेर स्वदेश फर्काएको थियो। 

चीनले अध्ययन भिसामा आफ्नो मुलुक प्रवेश बन्द गरे पनि दक्षिण कोरिया र युरोपका कतिपय मुलुकका विद्यार्थी ग्रिन च्यानल र फास्ट ट्रयाक भनिने विशेष व्यवस्थाबाट चीन गइरहेको बताइएको छ। 

चीन फर्किन नपाएका नेपाली विद्यार्थीले चाहिँ नेपाल सरकारले कूटनीतिक पहलकदमी राम्रोसँग गर्न नसकेका कारण आफूहरु समस्यामा परेको बताउने गरेका छन्। 

नेपाल फर्किएपछि केही विद्यार्थीले अनलाइन कक्षा लिएको भए पनि प्रयोगात्मक परीक्षामा सहभागी हुन विश्वविद्यालय नै जानुपर्ने बाध्यता छ। 

केही महिनाअघि एसोसिएसन अफ नेप्लिज स्टुडेन्ट इन चाइनाले नेपालको स्वास्थ्य मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाएको थियो। 

‘चिकित्साशास्त्र प्रयोगात्मक शिक्षा भएको हुनाले नेपालमा बसेर अनलाइन कक्षा लिएर हाम्रो चिकित्सा शास्त्रको डिग्रीलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिँदैन,’ ज्ञापनपत्रमा भनिएको थियो।

चीनका अतिरिक्त अस्ट्रेलिया, दक्षिण कोरिया र जापानमा अध्ययनका लागि जाने प्रक्रियामा रहेका हजारौँ विद्यार्थीसमेत कोरोना महामारीकै कारण रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .