ad ad

समाज


'भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्दै : भव्य स्वागतको तयारी

'भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्दै : भव्य स्वागतको तयारी

शैलेन्द्र महतो
असार ९, २०७९ बिहिबार ७:१३, जनकपुरधाम

भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्दै छ। 

मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो १ : ३० मिनेटमा जनकपुरधाम आइपुग्ने जनाएको छ। 

धार्मिक सांस्कृतिक प्रवर्द्धनका लागि झण्डै ६ सय यात्रुसहित आज जनकपुरधाम आउन लागेको हो। 

रेल चढेर आउने तीर्थ यात्रीलाई भव्य स्वागत गर्ने विभिन्न निकायले तयारी गरेको छ।

मधेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानरपालिका र जानकी मन्दिरले तीर्थयात्रीको स्वागतको तयारी गरेका छन्। 

जनकपुर आइपुग्ने तीर्थयात्रीलाई रेल्वे स्टेशनमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री सत्रुधन महतोसहितका मन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र जनकी मन्दिरका साह महन्त रामरोशन दास लगायतले रेल चढेर आउने तीर्थयात्रीहरुलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ।

रेल्वे स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गर्ने तयारी पर्यटन तथा वन मन्त्रालयले गरेको मन्त्री सत्रुधन महतोले जानकारी दिए।  उनकाअनुसार पेय पदार्थ चिसो, पानीले यात्रीलाई सहयोग गरिने छ। रेल्वे स्टेशनबाट यात्रीहरु जनकपुरधामको विभिन्न होटेलमा जाने छन्। 

उनीहरुको लागि जनकपुरधामको विभिन्न होटेल भारतीय राजदूतावासले व्यवस्था गरेको छ। केही समय आराम पश्चात ६ बजे महागंगा आरतीमा तीर्थयात्रीहरु सरिक हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए। 

त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन्। जानकी मन्दिरको प्रांगणमा उनीहरुको लागि साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ। केही घण्टाको सांस्कृतिक कार्यक्रम अवलोकन पश्चात उनीहरु आफू बसेको होटेलमा तीर्थ यात्री फर्किने छन्। 
शुक्रबार बिहान जनकपुरको राममन्दिर, जनक मन्दिर लगायतमा दर्शन तथा भ्रमण गर्दै बसमा चढेर धनुषाधाम मन्दिर पुग्ने मन्त्री महतोले बताए। त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढी पुग्नेछन्। 

तीर्थ यात्रीको स्वागतको लागि जनकपुरधाम उपमहानगरपालिकाले दुईवटा स्वागत तथा प्रवेशद्वार निर्माण गरेको मेयर मनोज साहले जानकारी दिए।

मन्त्री महतोका अनुसार जनकपुरधाम आइपुग्ने सो रेल यात्रीलाई ओरालेर फेरि जयनगर नै फर्केर सीतामढी पुग्ने छ।

जनकपुरबाट बस चढेर सीतामढी पुग्ने तीर्थ यात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने जनाइएको छ। 

गत मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले सो रेलको संयुक्त रुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए। पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्द्धन गर्ने पहिलो रेल सेवा बनेको छ। 

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ।

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ।

सो रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धी तस्वीर तथा सामग्रीले सजाइएको उक्त रेलमा १४ वटा डिब्बा हुनेछन्। जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्द्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .