ad ad

समाज


काठमाडौंमा १० ठाउँमा १४ जनामा देखियो हैजा

काठमाडौंमा १० ठाउँमा १४ जनामा देखियो हैजा

नेपालखबर
असार १५, २०७९ बुधबार १४:४८, काठमाडौँ

काठमाडौंमा हैजाका बिरामीको संख्या १४ पुगेको छ। मंगलबार साँझ दुई जना बिरामी थपिएसँगै हैजाका बिरामीको संख्या १४ पुगेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले जानकारी दिए। 

हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भइसकेका छन्। २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको पनि अवस्था सामान्य नै रहेको दासले  बताए। 

काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेका छन्। यसले उपत्यकामा हैजा फैलिसकेको देखिएको दासले नेपालखबरसँग बताए। 

बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो। हैजा नियन्त्रणका लागि परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाइरहेको दासले बताए। 

अहिले पानी र खाद्यान्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरिरहेको छ। अन्य पहिचान तथा जनचेतनाको काम सबै अस्पताल र स्थानीय तहहरुले पनि गरिरहेको दासले बताए। 

पहिलो पटक बागबजारका एकै परिवारका दुई जनामा हैजा जीवाणु पत्ता लागेको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो। उनीहरु झाडा पखाला लागेर अस्पताल भर्ना भएका थिए। 

बिरामीहरुको संकलित नमुना परीक्षण गर्दा हैजा जीवाणु पत्ता लागेको थियो। बिस्तारै अन्य ठाउँका बिरामीमा पनि देखिएको हो। गर्मी तथा वर्षायाममा विशेष गरी झाडा पखालाका, हैजा तथा पानी जन्य रोगहरु फैलिने संभावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 

यसबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

समयमै सावधानी नअपनाए र निदान तथा उपचारको व्यवस्थामा ध्यान नदिए महामारीको रुप लिन सक्ने खतरा समेत रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .