समाज


सय पटकभन्दा बढी जोर्नी फुस्किएका व्यक्तिको किस्ट कलेजमा सफल शल्यक्रिया

सय पटकभन्दा बढी जोर्नी फुस्किएका व्यक्तिको किस्ट कलेजमा सफल शल्यक्रिया

नेपालखबर
साउन १, २०७९ आइतबार १७:५५, काठमाडौँ

पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक इमरजेन्सी हो। सुन्दा अचम्म लाग्ला तर काठमाडौ बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सय पटकभन्दा बढी झेले। 

उनी हरेक पटक नजिकको स्वास्थ्य केन्द्रमा गएर तानतुन पारेर जोर्नी मिलाउन लगाउँथे र आफ्नो काममा फिर्ता जान्थे। तर गएको केही महिनामा समस्या निकै बढन थाल्यो । सुत्ने बेला कोल्टे फर्किँदा समेत पाखुराको जोर्नी फुस्किन थाल्यो। त्यसपछि उनी किष्ट मेडिकल कलेज इमाडोलको सेन्टर फर एडभान्स्ड आथ्र्रोस्कोपी एन्ड स्पोर्ट्स मेडिसिनको सम्पर्कमा आए । 

नेपालका वरिष्ठ एवं अब्बल आथ्र्रोस्कोपिक एन्ड स्पोर्ट्स सर्जन प्रोफेसर डा. अमित जोशीको नेतृत्वमा रहेको यस सेन्टरमा डा. श्रीराज श्रेष्ठ र डा. सौरभ दाहालको टिम रहेको छ। डा. जोशीको टिमले एक्सरे, सीटी स्क्यान र एमआरआईको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केही मात्रामा हड्डी नभएको पाए। 

धेरै पटक फुस्किरहने गर्दा हड्डी धस्ने हुन्छ तर उप्रेतीमा यो मात्रा निकै धेरै पाइयो। रिकरेन्ट शोल्डर डिस्लोकेसनमा गरिने अरु अप्रेसन जस्तै आथ्र्रोस्कोपिक ब्यान्कार्ट रिपेयर र ल्याटार्जेट प्रसिड्युर मात्र गरेर उप्रेतीको समस्या समाधान नहुने देखियो। त्यही कारण डा. जोशीको टिमले नेपालमै अहिलेसम्म नभएको कन्ग्रुअन्ट आर्क ल्याटार्जेट प्रसिड्युर अप्रेसन गर्ने निर्णय लियो र २०७९ असार १० गते किष्ट मेडिकल केलजमा यो अप्रेसन सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।

यो अप्रेसनमा कुमको कोराक्वाइड भन्ने हड्डीको टुक्रालाई ल्याएर जोर्नीनजिकै टिटानियम स्क्रुका मद्दतले फिक्स गरिन्छ जसले गर्दा फेरि जोर्नी फुस्किँदैन ।

अस्पतालले भनेको छ, ‘किष्ट मेडिकल कलेजमा नियमित रुपमा डा. जोशीको टिमले घुँडा, पाखुरा तथा गोलीगाँठोको स्पोर्ट्स इन्जुरी र आथ्र्रोस्कोपीको धेरै मात्रामा अप्रेसन गरिसकेको छ। तर यति धेरै संख्यामा पाखुराको हड्डी धसेको बिरामी कमै हुने गर्ने भएकाले नेपालमा पहिले कहिल्यै नभएको यो अप्रेशन गर्ने मौका पाएकोमा टिम सन्तुष्ट छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .