ad ad

समाज


सप्तकोसीको बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

सप्तकोसीको बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०७९ बुधबार ९:२६, काठमाडौँ

उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। 

सप्तकोसीको पानीको बहावले अहिले झन्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए। 

गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीले गरेको कटानबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गरेका छन। उनीहरूबीच कटानबाट प्रभावित बस्तीका बासिन्दालाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको छ। 

उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो। 

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन्। 

गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उनले उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। 

कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा असर पारेको छ। 

विपदमा परेकाहरूलाई अस्थायी बासस्थान, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाँणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका छन्। कटानका कारण २ हजार ४ सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश  प्रमुख डीआईजी गिरीले जानकारी दिए। अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उनले बताए। 

नदीको कटान रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताए। आफूहरुले गृहमन्त्री खाँणले त्यही विषय जानकारी गराएको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा लान निर्देशन भएपछि त्यहीअनुरुप आफूहरुले काम गरिरहेको बाहोराले बताए। 

केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उनले बताए। 

याे पनि : ​सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित, ५ हजारको उद्धार (तस्बिरहरू)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .