एक समय मठ मन्दिरबाट तीज सुरु हुन्थ्यो। गाउँभरका महिला मिलेर नजिकैको मठ मन्दिरमा जान्थे, पूजा आराधना गर्थे, तीजका गीत गाउँथे, नाच्थे। त्यो समय महिलाले मनका कुरा गीतमा व्यक्त गर्ने त्यही एउटा समय थियो। वर्षभरि मनमा गाँठो परेर बसेका कुरा गीतबाटै फुकाउँथे।
पहिले तीजका लागि सामान्य तयारी हुन्थ्यो। अहिले जस्तो तामझामसहित सबै ध्यान त्यसैमा लगाउने चलन थिएन। घरमै सामान्य परिकार बनाइन्थ्यो। चाम्रे, खीर, ढकिया बनाएर खान्थे। तीजकै लागि अनेक सामाग्री नै जुटाउने चटारो हुँदैनथ्यो। त्यसैले अघिल्लो दिनमात्रै तीज लाग्थ्यो।
तर केही वर्षदेखि तीज पार्टी प्यालेसमा लाग्न थाल्यो। विशेषतः शहरका महिलाहरुले एक महिना अघिबाटै पार्टी प्यालेसमा तीज मनाउन थाले। खाने पिउनेदेखि नाच्ने पनि महिना दिनअघि नै सुरु भयो।
पार्टी प्यालेसमा तीज लागेपछि असार अन्तिमबाटै रातो साडीमा सजिएका महिलाहरुको ठूलो संख्या सडकमा देखिन्थ्यो। पार्टी प्यालेसदेखि ब्युटीपार्लरसम्मले राम्रो व्यापार गर्थे।
यो क्रम कोरोना महामरी अघिसम्म बढेकै थियो। अहिले पातलिएको छ। तथापि अहिले पनि पार्टी प्यालेसमा तीजको रौनक बाँड्ने महिला प्रशस्तै छन्। धेरै पार्टी प्यालेस अहिले प्याक छन्।
तीजका नाममा फजुल खर्च गरेको भन्दै महिलाहरुले आलोचना खेप्नु पर्यो। ‘भड्किलो तीज’ शीर्षकमा नाम चलेका लेखकदेखि अनुज पुस्तासम्मले खबरदारी गरिरहेका छन्। अघिल्लो वर्षसम्म तीजको सन्दर्भ पारेर सार्वजनिक गरिएका गीत÷संगीतको पनि अत्यधिक विरोध भयो। यो वर्ष विरोधको यो क्रम घटेको छ।
टिकटकमा तीज
पार्टी प्यालेसभन्दा तीजको रौनक अहिले टिकटकमा छ। अर्थात्, अचेल तीज टिकटकबाट सुरु हुन्छ। तीजका गीतमा टिकटक बनाउन महिलाहरु चिटिक्क हुने गरेका छन्। नयाँदेखि पुराना गीतहरूमा टिकटक बनाइरहेका छन्। कतिले एक्लै नाचेर त कतै दिदीबहिनी जम्मा भएर टिकटक बनाउँदैछन्।
अहिले गहना र नयाँ डिजाइनका लुगाको फेसन ट्रेन्ड पनि टिकटकबाटै सुरु भएको छ। टिकटकमा तीजको रौनक कोरोनासँगै सुरु भएको हो। कोरोनाकालमा पार्टी प्यालेस बन्द भए। घर–माइती गर्ने सडक, बाटो बन्द थियो। यही बेलादेखि टिकटकमा तीज लाग्न थालेको हो। रोजेका हुन्।
कोरोनाकालमा गाउँ, सहरमा नआएको तीजको रमाइलो टिकटकमा देखियो। त्यसयता टिकटकमा तीजको रमाइलो झन् बाक्लिएको छ। तीजको अवसर पारेर बनाइएका गीतका टुक्कामा दिदी–बहिनीहरुको छमछम देख्न सकिन्छ । टिकटकमा दिदी–बहिनी मात्रै होइन, दाजुभाइ पनि तीज मनाइरहेका छन्।
तीजका गीतमा लिप्सिङ दिने र नाच्ने मात्रै नभइ कतिपयले सन्देशमूलक भिडिओ समेत बनाएर अपलोड गरेका छन्। गीतले मागेअनुसार कतिपयले श्रीमान्–श्रीमती भएर, कतिले प्रेमी–प्रेमिका र माइती–चेली भएर अभिनय गरेका छन्।
अहिले टिकटमा सबैभन्दा धेरै बिष्णु माझीको ‘चरी जेलैमा २’ मा अभिनय गर्ने, नाच्ने र लिप्सिङ गर्ने महिला भेटिन्छन्। यो गीतको अघिल्लो सिरिजमा पनि उत्तिकै संख्यामा टिकटक भेटिन्छन्।
विष्णुको गीतमा टिकटक बनाउनकै लागि थुप्रै प्रयोगकर्ताले आफ्नो अनुहारमा मेकअपको दाग बनाएको देखिन्छ।
धेरै टिकटक प्रयोगकर्ताले गीतको ‘अर्को जुनी फेर्न मन छ, छोरो भएर हेर्न मन छ’, भन्ने टुक्कामा टिकटक बनाएका छन्।
यो वर्ष तीजका गीतमा धेरै टिकटक बनेको अर्को गीत हो, ‘मायालुले जाम भन्छ बेलुका, जाम की नजाम म’ गीत हो। भागिरथ चलाउने र सुनिता क्षेत्रीको यो गीत युट्युबमा पनि करोड क्लबमा पुगेको छ। यो गीतमा पनि महिला पुरुष दुवैले बराबरी टिकटक बनाएका छन्।
समीक्षा अधिकारीले गाएको ‘एउटा मोबाइल किन्देऊ बुढा टिकटक बनाउँछु’ बोलको गीतमा पनि थुप्रै टिकटक बनेका छन्।
प्रीति आले र जय देवकोटाले दुई वर्षअघि गाएको गीत ‘बजेन किन तीजैको मादल’बोलको गीतमा पनि यो वर्ष टिकटक बनिरहेका छन्। नयाँ गीतसँगै पुराना गीतमा टिकटक बनाउनेको संख्या पनि उल्लेख्य छ।
टिकटक बनाउनकै लागि महिलाहरुले नयाँ पहिरन, श्रृंगार सामग्री र गहना निकालेका छन्। फुल मेकअप गरेर टिकटक भिडियो बनाइरहेका छन्। टिकटकमा भव्य तीज लागेको छ। तर, तीज आउन अझै आधा महिना बाँकी छ। जेठको आखिरीबाट टिकटकमा सुरु तीजको रौनक मोबाइलबाट घर घरमा पुगेको छ।
Shares
प्रतिक्रिया