ad ad

समाज


‘होस्टाइल’ले पनि रोकेन पल शाहको जेल यात्रा

‘होस्टाइल’ले पनि रोकेन पल शाहको जेल यात्रा

नेपालखबर
भदौ २१, २०७९ मंगलबार २०:३३, काठमाडौँ

बलात्कार मुद्दामा पीडित होस्टाइल हुँदा पनि अभिनेता पल शाह अढाई वर्ष जेल बस्नु पर्ने भएको छ।

जिल्ला अदालत नवलपुर र तनहुँले अदालतमा बकपत्र गराउँदा पीडित र पीडितका बुबा जाहेरवालाले पल निर्दोष रहेको र आफ्नै जाहेरी झुटो रहेको बयान दिएका थिए। 

सुरुमा पलमाथि बलात्कार आरोप लगाएका उनीहरुले दुवै अदालतमा पछि बयान बदलेर पल निर्दोष रहेको भने पनि अदालतले भने अढाई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्नु पर्ने भएको छ। 

जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद

नवलपुर अदालतमा गत वैशाख पहिलो साता पीडित र जाहेरवालाको बकपत्र गराइएको थियो। त्यतिबेला उनले आफूमाथि करणी नै नभएको बयान दिएकी थिइन्। 

त्यसअघि फागुन १५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा दर्ता भएको जाहेरीमा भने २०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा शाहले बलात्कार गरेको पीडितको आरोप थियो। तर बयानका क्रममा बाबुमार्फत दर्ता गरेको जाहेरी नै झुटो भएको भनेकी थिइन्। 

‘म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेकी थिएँ। पलले मलाई करणी गरेका होइनन्। उनी त मेरा अविभावक हुन्’, बकपत्रका क्रममा उनले भनेकी थिइन्, ‘त्यो रात मेरो कोठामा पल आएका होइनन्। करणी पनि गरेका छैनन्। हाम्रो बीचमा राम्रो सम्बन्ध छ।’

त्यसअघि पलविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको थियो। जाहेरी परेको चार दिनपछि पल जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए। 

पीडित र जाहेरवालाले घटना नै नभएको भने पनि अब पल शाहले कम्तिमा अढाई वर्ष कैद भुक्तान गर्नै पर्ने भएको छ। १८ वर्ष भन्दा कम उमेरका नाबालिगमाथि सहमतिमै करणी गरेको भएपनि बलात्कार ठहरिने कानुनी व्यवस्था छ।

जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएपनि यही उमेरका कारण पलले  कैद, जरिवाना र क्षतिपूर्ति भराउनु पर्ने फैसला गरेको हो। फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन। पूर्णपाठ आउन समय लाग्ने जिल्ला अदालत नवलपुरले जनाएको छ। 

उमेर पुगेकाको हकमा बयान बदल्दा पीडितलाई नै कैद सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ। तर पलविरुद्ध जाहेरी दिने नाबालिग भएका कारण उनलाई त्यो सजाय नभई अदालतले पललाई नै दोषी ठहर गरेको देखिन्छ।

शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै पीडितलाई आवश्यक क्षतिपूर्ति भराउन पनि अभियोग पत्रमा माग गरिएको थियो। माग दाबीभन्दा कम कैद र जरिवानाको फैसला भएपनि क्षतिपूर्ति भने १० लाख रुपैयाँ भराउन भनिएको हो। 

उता जिल्ला अदालत तनहुँमा पनि मुद्दाको पेशी यसअघि नै तोकिएको थियो। १५ गते पेशी चढेपनि मुद्दाको अन्तिम सुनवाई स्थगित गरिएको थियो। 

केही दिनमै तनहुँ अदालतले पनि फैसला गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .